कविता : प्यारी भ्यालेन्टाइन्
64x64
२०७९ फाल्गुण ०२ मंगलबार प्रेसपालिका संवाददाता
470 Views

रुकुम पश्चिम २, फागुन ।

मेरी प्यारी भ्यालेन्टाइन् ।
तिमीलाई ह्याप्पि भ्यालेन्टाइन् ।।

मेरै लागि उनले
आफ्नो अनमोल जीवन छुट्याइन्
आफ्ना अनेकौँ अवसर गुल्ट्याइन्
मेरो घरभरि असरल्ल थुप्रिएका
सारा समस्याहरू सुल्ट्याइन्
मेरी प्यारी भ्यालेन्टाइन्
तिमीलाई ह्याप्पि भ्यालेन्टाइन् ।।

सुरूमा त उनले
मेरा कमजोरीका पाना पल्टाइन्
वल्टाइन् पल्टाइन्, वल्टाइन् पल्टाइन्
र त्यहाँ अभावैअभाव भेट्टाइन्
‘यस्तासँग त निकै निकै
जीवन काट्नै कठिन रैछ !’ भन्ने अर्थ्याइन्
अनि हडबडाइन्, छटपटाइन्
तथापि
समयसँग चल्दैनौ भनी न त कहिल्यै अगुल्ट्याइन्
आफूसँग भुल्दैनौ भनी न त कहिल्यै जगल्ट्याइन्
राम्रोसँग पाल्दैनौ भनी न त कहिल्यै भुत्ल्याइन् ।

‘तिमीलाई अहिल्यै छोड्छु !’ भन्दै न कहिले फतफताइन्

मेरी प्यारी भ्यालेन्टाइन् ।
तिमीलाई ह्याप्पि भ्यालेन्टाइन् ।।

समयान्तरमा
तातो रिस घटाइन्
आफ्नो निर्णय उल्टाइन्
खर्चपर्च जुटाइन्
धर्मकर्म रटाइन्
कान समाती बसाइन्
नाक समाती उठाइन्
हात समाती चुठाइन्
मिठो माया चटाइन्
कठिन दिन कटाइन् र
आँखाभित्रै अटाइन् ।

मेरी प्यारी भ्यालेन्टाइन् ।
तिमीलाई ह्याप्पि भ्यालेन्टाइन् ।।
तिमीलाई ह्याप्पि भ्यालेन्टाइन् ।।

लेखक: पूर्ण ओली ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News