निबन्ध: लोकसेवाको उत्तरकापी
64x64
२०७९ माघ ०७ शनिबार प्रेसपालिका संवाददाता
263 Views

रुकुम पश्चिम ७, माघ ।
शिक्षण पेसाबाट सरकारी सेवामा छलाङ मार्नुपूर्व अर्थात् छपन्न सालअघि म दुरुस्त टाँगन घोडातुल्य थिएँ । टाँगन घोडाकै उपमा दिनुको कारण छ ।

बि.एड. पढ्दै गर्दा एक जना नेपाली विषयका सरको अभ्यास शिक्षण हेर्ने अवसर मिलेको थियो । “उपमा” पाठको कक्षा रहेछ । उहाँले एउटा घटनाको सन्दर्भमा कुवाको भ्यागुताको उदाहरण दिनुभयो । एक जना विद्यार्थीले “त्योभन्दा राम्रो उपमा त टाँगन घोडा होइन र सर ?” भनी जिज्ञासा राख्यो । सरले भ्यागुतामै जिद्दी कस्नुभयो । विद्यार्थीले घोडामै जिद्दी कस्यो । अभ्यास शिक्षणको निरीक्षण गरिरहनुभएका निरीक्षक सरले फैसला हान्नुपर्ने भयो । उहाँले भन्नुभयो कि दुवै उपमा उस्तै हुन् तर परीक्षामा भने टाँगन घोडाको उदाहरण दिएमा बढी नम्बर आउँछ ।

उता पिउँसोले जितेको र आफ्नो नम्बर घट्ने पीरले शिक्षक साथीको अनुहार रातोपिरो भयो । त्यसपछि उहाँको व्याख्याले तीनछक पर्ने पालो मेरो आयो ।

म त्यसको केही समयपछि नेपालगन्ज पुगेँ । त्यहाँ फुकीढल टाँगन घोडाको हविगत प्रत्यक्ष हेर्न पाएँ ।  घरीघरी चाबुकले हिर्काइएर पिठ्युँमा बसेका निलडामको असह्य दुखाइले थरथर काँपिरहेका बछेडोका दुईजोर मसिना खुट्टाहरू । बिहान उज्यालो नबस्दैदेखि बेलुका झम्के अँध्यारोसम्म २०/२५ जनासम्म मान्छेहरू र त्योभन्दा दोब्बर सङ्ख्‍या र दोब्बर वजनका कुम्लाहरूको विशाल भारी बोकेर नेपालगन्जदेखि रुपैडिहासम्म अविश्राम कुदिरहने निरीह प्राणी । दुवै आँखालाई सिधा अगाडिबाहेक यताउता हेर्न सुविधा नहुने गरी टिनको पाता ठोकिएको टाँगन-घोडा । त्यो देखेर आफ्नो वर्तमान पेसाका लागि सर्वोत्तम खास्सा उपमा टाँगन घोडा नै रहेछ भनी आत्मसात गरेको थिएँ ।

उति बेलाको मेरो शिक्षण पेसाको दिनचर्या पनि यस्तै यस्तै त थियो । त्यस बेला स्कुलका पाठ्यपुस्तक घोकेर दिनभरि कक्षाकोठामा कराउनु । बिहान बेलुका स्कुल व्यवस्थापनका कामहरू गर्नु । शिक्षा शाखाले र परिवार शाखाले तोकेको विशाल भारीको भूमिका निर्वाह गर्नु । यतिले पनि सरोकारवालाहरूको चित्त कहिल्यै बुझाउन नसक्नु । अति व्यस्ततामा समाज, राष्ट्र तथा अन्तर्राष्ट्रिय ज्ञान प्राप्त गर्ने छुट्टै समय कहाँ पाउनु र ? दुरुस्तै टाँगन-घोडा थिएँ म ।
मेरो दयनीय अवस्था देखेको एक साथीले उपाय सुझाइदियो, “बरु लोकसेवा पढ् भाइ ।”

मैले उसको सुझाव भुईँमा झर्न नदिई मास्टरी जागिरीउपर लात मार्दै बजार उपलब्ध भएजतिका लोकसेवाका पुस्तकहरू खेरेर दिनरात नभनी रट्न थालेको थिएँ ।  लोकसेवा पाठ्यक्रमभित्रका जुनसुकै जानकारीका लागि पनि म सर्वथा नौलो थिएँ । केबाट सुरु गर्ने भन्ने छेउटुप्पो थाहा थिएन । यस्तैमा कुनै साथीले सार्कको बडापत्र रटे लोकसेवाको एउटा प्रश्न जसरी पनि फस्छ भन्ने गुह्य जानकारी दिए । भेउको छेउ पाउनासाथ मैले सार्कका उद्देश्य, सिद्धान्त र धारा उपधाराहरू घोक्न थालिहालेँ । घोषणापत्रको प्रस्तावना र उद्देश्यमा दक्षिण एसियाको जनताहरूको जीवनस्तर उकासेर जीवनको सार्थकता महसुस गराउने प्रतिबद्धताहरू रहेछन् । मलाई चाहिएकै त्यही थियो । यो देखी मेरो एक बित्ताको मसिनो छाती तीन बित्तामा विस्तार हुन पुग्यो । झन् पढ्यो झन् गुलियो लाग्ने कुराहरूले बडापत्र छर्लक्कै भरिएको थियो । आफूजस्ता जनताको जीवनस्तर उकासिने कुराहरू पढ्न पाए को खुशी नहुँदो हो ? कुनै झन्झटबिना एकदिनमै घोषणापत्रका सबै कुराहरू कण्ठै पारेर छोडिदिएँ ।

अर्को साथीले कानमा फुकिदियो, “सविधान कण्ठै गर्नुपर्छ तीनचारवटासम्म क्वइस्चन फस्‍न सक्छन् । यो घोकियो भने कम्तीमा दुईवटा त कतै नजा ।” त्यसपछि टुप्पी कसेर पढ्न थालियो ४७ सालको संविधान । प्रस्तावनाका शब्दहरू पढ्दापढ्दै मोहित हुन पुगेँ । मौलिक हक त कति कति ! यति धेरै मौलिक हकहरू रैछन् यति भए किन लोक सेवा पढ्नु जस्तो पनि लाग्थ्यो । लोकसेवातिर नाम ननिक्लिए पनि आफू लगायत समस्त नेपालीहरूका दुःखका दिन समाप्त हुन आँटेको देखेर रोमाञ्चित हुन पुगेँ । हुन पनि ४७ सालको संविधान उतिबेला संसारकै सर्वोत्तम संविधानमध्येको थियो ।

त्यसपछि कसैले भनिदियो अरू जति पढे पनि सेवासम्बन्धी कानुनहरू नरटी त कुनै हालतमा नाम निस्कँदैन । त्यत्रो सार्क बडापत्र र संविधान त निकालियो अब यी पातला कानुनहरू नपढ्न सक्ने कुरै छैन भन्ने मनमा जाग्यो र प्रचलित कानुनका जरा उधिन्न थालियो । पालैसित निजामती सेवा ऐन नियम, भ्रष्टाचार निवारण ऐन, आर्थिक कार्यविधि ऐन नियमहरू आदि लगायतका पाठ्यक्रमले तोकेअनुसारका थप ऐनकानुन पनि रट्न थालियो । सार्क बडापत्र र संविधान पढेजस्तो सजिलो थिएन कानुनका दफाहरू पढ्न । जति पढ्यो उस्तै उस्तै लाग्ने । जता पस्यो उतै फसिने ऐसेलुबारीजस्तो । अलिकति पनि शब्द यताउति परेमा नम्बर आउँदैन भन्ने पनि घोकाइएकै थिएँ । जसरी तसरी सुगा रटाइ गर्नैपर्ने भएको थियो । आँखा पुत्ताउने गरी तत्कालीन ऐन कानुनको सुगा रटाइमा लागियो ।

यसैबीचमा लोकसेवाका विगतका परीक्षाका परिणामहरू पनि धमाधम आइरहेकै थिए । कोही साथीहरू पास भैरहेका थिए त धेरैजसो साथीहरू फेल । संविधान ऐन कानुन कण्ठस्थ पारेका साथीहरू पनि फेल हुन पुगेका थिए । फेल हुनुको कारण पञ्चवर्षीय योजनाको किताब नरटेकाले हो भन्ने गुह्य कुरा पत्तो लाग्यो । हत्तपत्त दसौँ योजनाको किताब किन्न पुगियो । त्यसको मोटाइ देखेरै सातो गयो । यति मोटो किताब कण्ठ गर्नु त कहाँ हो कहाँ कैलेको जुगमा एकसरो पढिसिध्याउनु ? मुटुको आरनमा  डरको फलाम पिटिन थाल्यो । अब पढ्ने कि यत्तिकै छोडिदिने ? यत्तिकै छोड्ने हो भने छँदाखाँदाको मास्टरी जागिर त्यागेर बडापत्रदेखि कानुनका छोटापत्र रटेको के काम ? होस् जति पढिएको छ त्यतिको जबाफ दिए त पुग्ला नि यो पटकलाई त भन्नेजस्तो लाग्थ्यो ।

कतिवटा प्रश्नको हल गर्ने क्षमता आर्जन भएछ भनी पहिल्यै रटेर भ्याइएका संविधान र कानुनहरू हेर्न थालियो । सार्कको बडापत्र त दिमागमा सेभ नै भएनछ स्वाट्टै डिलिट भैसकेछ । संविधानका धेरै धाराहरू इरेज भएर अलिअलि धर्साधर्सी बचेको रहेछ । फेरि बडापत्र दोहोर्‍याउन थालियो उता कानुनका लाइनहरू मेटिँदै गए । एउटा कस्न नभ्याउँदै अर्को फुस्किने । यस्तै गरी घरी यता घरी उता सम्हाल्दासम्हाल्दै एकदिन सुब्बामा नाम निस्किएर छाड्यो । इन्द्रले स्वर्गको राज्य प्राप्त गरेजस्तो खुसीयाली मनाउँदै थिएँ वरिपरि इन्द्रजितहरू निस्किन थालिहाले । आफूसँगै रटानमा लागेका साथीहरूले भकाभक शाखा अधिकृतमा नाम निकालिरहेका थिए । जाबो सुब्बा भएर पनि के को जागिर खानु भन्ने आत्मग्लानि हुन थाल्यो ।
शाखा अधिकृत पास गर्नु त झनै फलामका चिउरा चपाएझैँ थियो । स्वदेशका मात्र होइन विदेशी भूगोल राजनीति विकास र प्रशासनको समेत ज्ञान आवश्यक पर्थ्यो । आक्कलझुक्कल हेरेकै प्रश्न फस्यो भने त चिठ्ठै परेजस्तो हुने ।

त्यसैताका दोस्रो जनआन्दोलन उठ्यो र छलाङ मारेरै छोड्यो । संविधान राजनीति र प्रशासनका सिद्धान्त र संरचना परिवर्तन भए । विकास प्रशासनका नयाँ र अझ गुलिया नाराहरू आए । समावेशी राज्यका बहसहरू चुलिए । भएभरका कानुनहरू परिवर्तन भए । रामराज्यको कल्पना गरिएको सुशासन कानुन पनि आइपुग्यो । योजनाको ढड्डा फेरियो । शासकीय संरचनाहरू फेरिए । केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकार  थपिए । तिनीहरूका विधि प्रक्रिया थपिए । शासकहरूका अनगिन्ती नामहरू थपिए । तिनीहरूका आआफ्ना सयौँ कानुनहरू थपिए । लोकसेवा जाँच दिनेले अब यी यावत कुराहरुको पनि जानकारी राख्नुपर्ने भैदियो ।

एक पस्स्यो जति गिदी भएको दुई किलाको टाउकाले ती सबथोक त कहाँ रट्न सक्नु ? कतिको नाम सम्झनु ? कतिका दफा र धाराहरू सम्झनु ?
म हायलकायल भइरहेको बखत अधिकृत पास गरिसकेको एक जना साथीले गजबको उपाय सुझाइदियो । उसले भन्यो: “हरेश नखा भाइ । कुराहरू थुप्रै थपिएजस्तो लागे पनि सार फेरिएको छैन । शासनपद्धति फेरिएको छ, शासकको अनुहार फेरिएको छैन । कानुनका गाताहरू फेरिएका छन् तर पानाहरू हेरिस् भने कपिपेस्ट मात्र हुन् । नाराहरू फेरिएका छन् तर शब्दहरू फेरिएका छैनन् । तीनचार पार्टीका नेताहरूको मुख्य मुख्य नाम कण्ठ गरिस् भने पुग्छ । नआत्तिएर पहिले जे रटेको थिइस् त्यसमा अलिअलि थपथाप पारेर प्रश्न हल गर्नू स्योर पास हुन्छस् । अनि सुन्, सामाजिक परिवर्तन, सामाजिक न्याय, समावेशिता आदि शब्दहरू भने कण्ठै पार्नू । जुनसुकै प्रश्न हल गर्दा पनि यी कुरा हाले पनि हुन्छ ।”

लोकसेवा पास गरेर देखाइसकेको साथीको सुझावमा आशङ्का गर्नुपर्ने कहीँकतै ठाउँ थिएन । उसको सुझाव शिरोपर गरेर ती शब्दहरू पनि कण्ठै पारेँ । अनुभवी विशिष्ट व्यक्तिहरूको समूहले लेखेको नयाँ गाइड पनि किनेँ । नभन्दै साथीले भनेको कुरा ठीकै रहेछ । कानुन तथा गाइडका हरेक पानाहरूमा सामाजिक न्यायका विभिन्न पर्यायवाची शब्दले रङ्गिएका थिए । पुरानै रक्सीले भरिएको नयाँ बोत्तल रित्त्याउन मलाई उति कठिन भएन ।
परीक्षा नजिकिँदै थियो मैले प्रार्थना गर्न थालेँ, “हे, भगवान्‌ यो परीक्षामा सामाजिक न्यायकै प्रश्न जसरी पनि फसिहालोस् ।”

परीक्षाको घण्टी पनि बज्यो । नभन्दै त्यो परीक्षामा एक नम्बर प्रश्नमै सामाजिक न्यायको प्रश्न फसेछ । खुसीले म बुर्लुक्कै उफ्रिएँ । एक नम्बरी प्रश्न यस्तो थियो,
“सामाजिक न्याय भनेको के हो ? देश र विश्व परिवेशको उदाहरण दिँदै यसले समाजमा पारेका प्रभावहरूको वर्णन गर्नुहोस् ।”
अरू प्रश्न हेर्नतिर नलागी म एक नम्बर प्रश्न हल गर्न हौसिएँ । केही बेरसम्म सामाजिक न्यायको परिभाषा नै सुझेन । आउन त बल गर्थ्यो तर घाँटीसम्म मात्र । त्यति धेरै बडापत्रदेखि छोटापत्रसम्मका पुस्तकहरू रटे पनि परिभाषा नै कण्ठ भएनछ ।

अब उदाहरणहरूबाटै प्रश्नको हल गर्ने सुर कसेँ । उदाहरण सम्झँदा सबैभन्दा पहिले सार्क बडापत्र दिमागमा घुम्न थाल्यो । मैले लेख्न थालिहालेँ :
“सार्क बडापत्रको अभ्यास हामीसँग कुम जोरेको ठूल्दाइले राम्रैसँग गरिरहेको छ । कहिले नेपालमा नाकाबन्दी गरेर । कहिले पाकिस्तानमा गोलाबारुद पड्काएर । कहिले बङ्ग्लादेशका मस्जिदमा आगो लगाइदिएर । कहिले भुटानको सातो खाएर । सीमा नमिचिएका कुनै भाइ बाँकी छैनन् । कमजोर भाइहरूलाई डम्पिङसाइट तुल्याएको छ । यसरी दक्षिण एशियाको जीवनस्तर उकासेर दक्षिण एशियाली जनताको जीवन सार्थक तुल्याउँदै छ ।”
त्यसपछि संविधान दिमागमा रिङ्न थाल्यो । यसरी लेख्न थाले, “संविधानको निर्माण नै काइदाको छ । दुईदुईपटक संविधानसभामा निर्वाचित भई खर्बौँ खर्च गरेर खारिएका हजारौँ नेताहरूले चार वर्ष लगाएर बनेको संविधान हो यो । यो संविधान स्वर्गको संविधानभन्दा पनि अच्छा भएकाले यसलाई उन्नाइसौँ पुराण मानेर पूजा गर्नुपर्ने देखिन्छ । कोही कोही लालबुझक्कडहरू नर्कको संविधान भन्दै जलाउने पनि गरिरहेका छन् । यो संविधान र यस अनुकूल बनेका कानुनको मर्मअनुसार अभ्यासको थालनी भइसकेको छ । कानुनभन्दा अच्छा अध्यादेशहरू आइरहेका छन् । संविधानको ढिकमा टेकेर संसद घटन र विघटन पनि भैरहेको छ ।”

यति त लेखेँ तर आफ्नो जबाफ आफैँलाई पटक्कै चित्त बुझेन । कानुनको मात्र उदाहरण दिएर जाँचकीले त के नम्बर देलान् र ? जस्तो लाग्यो । व्यक्तिको उदाहरण पनि त दिनुपर्ला ? अनि चक्कर आउन थाले सामाजिक न्यायका लागि समाजवादको नारा लगाएर कहिल्यै नथाक्ने नेताहरूका अनुहारहरू । सबै अनुहारहरू परीक्षा पेपरमा अटाउन पनि नसकिने । के गरूँ कसो गरूँजस्तो भयो । जिउबाट पसिना छुट्यो ।
मुख्य मुख्यको नाम हाल्छु भनी कस्सिएँ र लेख्न थालेँ ।

“सामाजिक न्याय स्थापनाका लागि नेपालका हरेक नेताहरू अत्यन्तै चिन्तित हुनुहुन्छ । जस्तो कि सामाजिक न्याय बिगार्ने डरले शेरबहादुरजीहरूले रामचन्द्रहरूलाई अगाडि आउनै दिनुभएको छैन । केपीहरूले माधवहरूलाई पाखा लगाएको लगायै पारिदिनुभएको छ । प्रचण्डहरूले डाक्टर, वैद्यहरूलाई झाडु लगाएर बढारिरहनुभएको छ । यस्तो अभियान आफू एक्लै नपरेसम्म सञ्चालन गर्नुहुने देखिन्छ । ठाकुरहरूले उपेन्द्रहरूलाई पाखा लगाउने अनेक तिकडम गर्दै हुनुहुन्छ  । भर्‍याङ तुल्याइएका प्रतिस्पर्धीहरूलाई कुकुर लगाएर लखेटिरहनु भएको छ । नातावाद कृपावाद फरियावादलाई नयाँ ढङ्गले हनुमान्‌कृत गरी राज्यका सबै अङ्गहरूमा भर्ती गरिरहनुभएको छ । सामाजिक न्यायको साम, दाम, दण्ड, भेदको अस्त्र प्रयोग गरी अकुत नाम, दाम कमाइरहनुभएको छ । जस्तो कि अन्ताराष्ट्रिय उदाहरण बिलगेट्सलाई राष्ट्रिय उदाहरण उल्लिखित नेताहरूले पछाडि पार्ने अभियानमा लाग्नुभएको छ ।”

योभन्दा बढी लेख्न उचित ठानिनँ । उत्तरकापी पनि भरियो । यत्तिकै बुझाइदिऊँ जस्तो लाग्यो । झल्याँस्स के सम्झिएँ भनेँ यो कापी राजनीतिज्ञले जाँचे भने त राम्रै नम्बर आउला तर त्यहाँ त मरिकाटे जाँदैन । उहाँहरूको नाम त निर्वाचन आयोगका रोस्टरमा मात्र हुन्छ । लोक सेवा आयोगको रोस्टरमा त कलेज र प्रशासनका दिग्गजहरू मात्र हुनुहुन्छ ।
तर पर्‍यो गाह्रो । गोपनीयको कसम खाएर जागिर खाएपछि प्रशासकहरूको नाम किटेर उदाहरण दिन पनि मिलेन । के गरूँ कसो गरूँ भइरह्यो । कतै रटेको थिएँ कि राजनीतिले नीति निर्माण गर्छ कार्यान्वयन प्रशासनले गर्छ । दिमागमा सुझिहाल्यो । अनि थप कापी मागेर लेख्न थालेँ ।
“उल्लिखित राजनीतिक नीतिअनुरूप प्रशासकहरूले पनि रिठ्ठो नबिराई कार्यान्वयनको अच्छा भूमिका निर्वाह गरिरहनुभएको छ । जस्तो कि चूडामणि शर्मा । उदाहरण त दिएँ तर हतपत मेटिहालेँ किनकि चूडामणिकै हातमा परे त नम्बर पाइएला तर चूडामणिजस्ता रोस्टरमा नाम अटाइएका हजारौँ विशिष्ट जाँचकीज्यूहरू हुनुहुन्छ । जसको काम खालि गाइड लेख्नु, प्रश्न तेर्स्याउनु र कापी जाँच्नु मात्रै रहेको छ । उहाँहरूको हातमा यो कापी पुग्यो भने आफ्नो नामको सट्टा चूडामणिको नाम देख्नेबित्तिकै नम्बर रेटिदिने के बेर ? हत्तपत्त चूडामणिको नाम मेटिहालेँ ।

सामाजिक न्यायका लागि प्रशासकहरूले उठाएका कदम पनि लेखूँ कि भन्ने थियो तर थपिनँ किनभने उही कुरा दोहोर्‍याए नम्बर काटिन्छ भन्ने सुनेको थिएँ । राजनीतिले सामाजिक न्यायका लागि चालेका कदमहरू र प्रशासकले चालेका कदममा तात्त्विक अन्तर त थिएन । जस्तो कि दण्ड, भेद, नाम, दाम, आदि आदि ।
अब पुग्यो होला भनी कापी बुझाउन उठेँ । साथीले भनेको सम्झिएँ, “कापी बुझाउनुभन्दा पहिले समय बचेमा प्रश्न एकपटक दोहोर्‍याउनू । केही छुटेको हुन सक्छ ।” मैले अरू प्रश्न हेर्दै नहेरेकाले दोहोर्‍याउने कुरै आएन । सुरुकै जुन हेरेको थिएँ त्यो प्रश्न दोहोर्‍याएँ । “ला, प्रश्नको अन्तिम टुक्रा त सिङ्गै बाँकी रहेछ । सामाजिक न्यायको प्रभावकारिताबारे त लेख्दै लेखिनछु ।

अर्को कापी थपेर लेख्न थालेँ ।
“सामाजिक न्याय र डार्बिनको विकासवादी सिद्धान्त एकअर्काको परिपूरक हुन् । समाजमा जसले शक्ति प्राप्त गर्छ, उही बाँच्छ । शक्ति प्राप्त नगर्नेहरू संसारबाट बिलाएर जान्छन् । शक्ति प्राप्त गर्नु र जवानीमा प्रेम गर्नु उस्तै उस्तै हो । विवाहपूर्व प्रेमीले प्रेमिकालाई आकाशकै तारा भए पनि खसालिदिने वाचा गर्छ । यो जुनी मात्र नभई सयौँ जुनीसँगै बाँच्ने कसम खान्छ । काँडामा आफू मात्र हिँडेर फूलमा मात्र हिँडाउने प्रण गर्छ । प्रेमिकाको शारीरिक सुन्दरता र अत्यन्तै गुलिया र चिप्ला कुरामा चिप्लिएर जब प्रेमिका प्रेमीको नयाँ घरभित्र पस्छे अनि सुहागरात नआउँदै दाइजो कुरा उठिहाल्छ । माइतीको स्तरको कुरा उठ्छ । सुहागरात नसकिँदै बुहार्तनको इनलाइन क्लास सुरु भइहाल्छ । पोइको निर्घात कुटाइ, सासुको लुछाइ, ससुराका अश्लील वचनहरूको परीक्षा सुरु हुन्छ । त्यहाँ लोकसेवाका जस्ता लिखित पाठ्यक्रमहरू हुँदैनन् । कर्मघरको अलिखित पाठ्यक्रमको अनुमान गरेर बुहारीले लोकसेवाका भन्दा पनि निकै खँदिला र कठिन पाठ्यपुस्तक पढ्नुपर्छ । निकै सजग भएर जबाफ दिनुपर्छ । अनेकौँ चरणका परीक्षाहरू पास गर्नुपर्छ । जसले पास गर्न हिम्मत गर्दिनँ उसले केही दिनपछि गलामा पासो लगाउन बाध्य हुन्छे । जसले हिम्मत गर्छे उसले आफ्ना माइतीहरूसँग बुहार्तनका यावत् पाठहरू लुकाएर राख्नुपर्छ । आँसुका ढिक्काहरूसँग खेपिरहेका यावत् पीडाहरू घटघटी पिउन सक्नुपर्छ ।

राजनीति वा प्रशासनमा पाखा लगाइएका निरीहहरू बुहार्तन खप्न बाध्य यस्तै आम बुहारीहरूजस्तै हुन् । उनीहरू किन गलामा पासो लगाउन सक्दैनन् भने राजनीतिमा अन्तिम शास फेरुन्जेल शक्तिमा पुगिन्छ कि भन्ने आशा रहन्छ भने प्रशासनमा पेन्सनको आशाले ठूलै काम गरेको हुन्छ । यी दुवैबाट यी दुवै कुरा झिकिदिने हो भने गलामा पासो लगाउनेको सङ्ख्या निकै गुणाले बढ्न सक्छ ।
उत्तर लेख्दै थिएँ अन्तिम घण्टी बजिहाल्यो । निरीक्षकले कापी खोस्दा खोस्दै ठूलाठूला अक्षरमा निष्कर्ष दिन खोजेँ सामाजिक न्यायको सा मा जि क प्र भा व का रि ता    भ ने कै   य ही …… …. ….  !”
“हो”, पनि लेख्न नदिएर निरीक्षकले कापी खोसिहाले ।
रिजल्ट आयो, सँगै रटेका साथीहरूको नाम पनि आयो तर मेरो नामचाहिँ आएन । त्यति राम्रो उत्तर लेख्दा पनि नाम किन आएन भनी म चकित परेँ । चकित पर्नु के थियो आँखाबाट आँसु पनि झरेछन् र उहुँ उहुँ स्वर पनि निस्किहालेछ । श्रीमतीजीले कुरा बुझिछन् र हत्तपत्त कोठाभरि फिँजिएका लोकसेवाको सन्दर्भ किताबहरू फोहोर फाल्ने थैलामा कोच्न थालिन् ।
“यो के गरेको तिमीले ? अब एउटा प्रयास मात्र गर्छु । फेरि पनि नाम निस्किएन भने जे गर्नुछ गरौली !” भन्दै थैलामा जाकिएका बडापत्रदेखि छोटापत्रसम्मका पुस्तकहरू निकाल्न थालेँ ।

यस्तै खालका जवाफले उत्तरकापी भर्दा भर्दा धेरै वर्षपछि शाखा अधिकृतमा पनि नाम त निस्कियो तर आफ्नो अवस्था भने टाँगन-घोडाको भन्दा एक बित्ता पनि फेरिएन ।

निबन्धका लेखक पूर्ण ओली हुनुहुन्छ । यो निबन्ध उहाँले २०७८ असार २३ मा लेख्नुभएको हो ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
भेषराज रिजाल
भेषराज रिजाल
14 days ago

उत्कृष्ट व्यङ्ग्य निबन्ध।

Flash News