अल्लो प्रशोधन मेसिनरी औजार हस्तान्तरण
64x64
२०८१ असार ११ सोमबार प्रेसपालिका संवाददाता
130 Views

रुकुम पश्चिम १०, असार ।

रुकुम पश्चिममा पहिलोपटक अल्लो प्रशोधनका लागि आज मेसिनरी औजार हस्तान्तरण गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिका -८, घोरखानीमा रहेको अल्लो उद्योगलाई मेसिनरी औजार हस्तान्तरण गरिएको हो ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख मान बहादुर खत्रीले अल्लो प्रशोधन सम्बन्धी दुईवटा मेसिनरी औजार हस्तान्तरण गरिएको बताउनुभयो । कार्यालयको ७० प्रतिशत अनुदान र उद्योगको ३० प्रतिशत लगानीमा १० लाख रकम बराबरको मेसिनरी औजार उद्योगलाई दिइएको छ ।

मेसिनरी औजार प्राप्त गरे सङ्गै उद्योगमा आवद्ध महिला उद्यमीले अल्लो व्यवसाय सञ्चालनमा थप सहयोग पुगेको बताएका छन् । यसबाट उनीहरूले स्थानीय वन जङ्गलमा खेर गइरहेको अल्लो संकलन, प्रशोधन र कपडा बिक्रीबाट अब गाउँमै रोजगारी सहितको आयआर्जन गर्न सकिने बताएका छन् ।

अल्लो मेसिनरी औजार जिल्ला समन्वय समितिका उप प्रमुख देव बहादुर विकको प्रमुख आतिथ्यतामा हस्तान्तरण गरिएको हो । सो हस्तान्तरण कार्यक्रममा वडानम्बर -७, का वडा अध्यक्ष एक्क बहादुर पाण्डे, कार्यालय प्रमुख मान बहादुर खत्री, उद्योग बाणिज्य संघका अध्यक्ष पहल बहादुर खड्का, सह लेखापाल मुकुन्द केसी लगायतको उपस्थिति रहेको थियो ।

रुकुम पश्चिममा हाल दुईवटा अल्लो व्यवसाय सञ्चालनमा रहेको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले बताएको छ ।

अल्लो रेसाबाट बनाईएका कपडा चम्किलो, मुलायम र टिकाउ हुने भएकाले पछिल्लो पटक अल्लो कपडाको माग समेत बढ्दै गएको छ ।

अल्लो कपडाको प्रयोगले जाडोमा तातो र गर्मी समयमा न्यानो हनुका साथै चर्मरोग नियन्त्रण तथा उच्च रक्तचाप सन्तुलन हुने विश्वास रहेको छ । विशेषगरी अल्लो रेसाबाट कोट, झोला, जुहारी कोट र टोपी निर्माण हुने गरेको छ । अल्लोबाट निर्मित कपडाको मूल्य दुई देखि आठ हजार रुपैयाँ सम्म पर्ने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News