भेडाबाख्रामा लाग्ने पिपिआर रोग बिरुद्ध खोप अभियान सुरु
64x64
२०८० चैत्र २८ बुधबार प्रेसपालिका संवाददाता
1009 Views

रुकुम पश्चिम २८, चैत ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा राष्ट्रिय पिपिआर रोग नियन्त्रणको लागि भेडाबाख्रामा पिपिआर रोग बिरुद्ध खोप अभियान सुरु भएको छ । नगरपालिकाको वडानम्बर -७, को खाल्बोटमा एक कार्यक्रमका बिच मुसिकोट नगरपालिकाका नगरप्रमुख महेन्द्र केसीले खोप अभियानको उद्धघाटन गर्नुभएको हो ।

पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमको सहयोग र पशु सेवा शाखा मुसिकोट नगरपालिकाको आयोजनामा नगरका १४ वटै वडामा एकैसाथ खोप अभियानको सुरु भएको पशु सेवा शाखा मुसिकोट नगरपालिकाका प्रमुख सरस्वती सापकोटा खड्काले जानकारी दिनुभयो । साथै वडाको पायक पर्ने स्थानमा आफुले पालेका भेडाबाख्राका लागि अनिवार्य रुपमा खोप लगाउन पनि प्रमुख सापकोटाले आग्रह गर्नुभएको छ ।

मुसिकोट नगरपालिका संगै जिल्लाका ६ वटै पालिकामा एकैचोटी अभियान सुरु भएको छ । सम्बन्धित पालिकाका पशु सेवा शाखाको आयोजना र पशु अस्पताल तथा पशु सेवा कार्यालयको सहयोगमा जिल्लाका ६ वटै पालिकामा खोप अभियान सुरु भएको पशु अस्पताल तथा पशु सेवा कार्यालयका कार्यालय प्रमुख शेर बहादुर खड्काले जानकारी दिनुभयो । खोप अभियानको लागि जिल्लामा पहिलो पटक ७५ हजार खोपको डोज आइपुगेको र ७५ हजार आउने क्रममा रहेको प्रमुख खड्काले जानकारी दिनुभयो ।

बाख्रामा लाग्ने रोगहरूमध्ये पिपिआर रोग सूक्ष्म विषाणुबाट लाग्ने अत्यन्त सङ्क्रामक महामारी रोग हो । भेडाबाख्रामा लाग्ने तर बाख्रामा बढी असर गर्ने यो रोग नेपालमा सन् १९९४ मा देखापरेको थियो । यस रोगका मुख्य लक्षणहरुमा बाख्रालाई ज्वरो आउने, छेर्ने, मुखभित्र घाउ हुने र अन्त्यमा निमोनिया भएर मर्ने हुन्छन् ।

रोग नभित्रिएको क्षेत्रका बाख्रामा यो रोग फैलिएमा सबै भेडाबाख्रामा रोग लाग्ने र २० देखि ९० प्रतिशतसम्म बाख्राहरू मर्न सक्छन् । तीन महिनादेखि दुई वर्षको उमेरभित्रका बाख्रामा यो रोगले बढी असर गर्ने पशु अस्पताल तथा पशू सेवा कार्यालयका कार्यालय प्रमुख खड्काले जानकारी दिनुभयो । नेपाल सकारले २०३० सम्ममा नेपालबाट यो रोग निर्मूल गर्ने लक्ष्य लिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News