रुकुम पश्चिम ११, चैत ।
रुकुम पश्चिममा पर्ने राप्ती लोकमार्गको अलपत्र पितिवाङ खोला पुल निर्माण गर्न आइतबार समाजवादी मोर्चाले दबाब कार्यक्रम गरेको छ । मुसिकोट नगरपालिका -११ र १२, मा रहेको निर्माणाधीन पुल निर्माणमा ढिलाइ भएको भन्दै ठेकेदार कम्पनी र सडक विभागलाई ध्यानाकर्षण गराउने उदेश्यले दबाब कार्यक्रम आयोजना गरेको हो ।
निर्माण कम्पनीकै कारण विगत चार वर्ष देखि पक्की मोटरेबल पुल लथालिङ्ग अवस्थामा रहेकाले छिटो काम सुरु गर्न दवाव दिइएको मोर्चा संयोजक गोविन्द रोका सचिनले बताउनुभयो । अलपत्र पुलको काम तत्काल सुरु गर्न या ठेक्का रद्द गर्न सरोकारवाला निकायलाई पितिवाङ खोलामै पुगेर दोस्रोपटक दबाब दिइएको रोकाको भनाइ छ ।
दुई हप्ता अघि चार पार्टी सम्मिलित समाजवादी मोर्चाले अलपत्र पुल निर्माणका निम्ति जिल्ला प्रशासन कार्यालयलाई सात दिनको अल्टिमेटम दिंदै ध्यानाकर्षण पत्र बुझाएको थियो । तर सो समय भित्र पनि पुल निर्माणको कामले गति नलिएको भन्दै पुनः दोस्रोपटक दबाब सहितको कार्यक्रम गरिएको बताइएको छ ।
यदि फेरि पनि अलपत्र पुल निर्माणको काम तत्काल सुरु नगरिए आगामी चरणका कार्यक्रम मार्फत दबाब सृजना गरिने मोर्चाले जनाएको छ ।
यता सडक डिभिजन कार्यालय चौरजहारीका डिभिजन प्रमुख तेजस्वी शर्माका अनुसार ठेकेदार कम्पनीको लापरबाहीका कारण पुल निर्माणको काममा ढिलाइ भएको छ । तर सो पुल निर्माणको काम चालु वर्षको वैशाखमै सम्पन्न गर्ने गरि ६ महीनाको म्याद थप गरिएको बताइएको छ । कुल पाँच करोड २८ लाख लागत रहेको पितिवाङ खोला पुलको हालसम्म ८ प्रतिशत मात्रै काम पूरा भएको छ ।
दाङ-रुकुम सडक संजाल जोडिएको दुई दशक बितिसक्दा पनि पितिबाङ खोलामा पक्की मोटरेबल पुल बन्न सकेको छैन । जसका कारण यस क्षेत्रका नागरिक र सवारी साधनले सास्ती व्यहोर्नुपर्ने बाध्यता छ ।
सास्ती व्यहोर्नुपर्ने बाध्यता छ ।