रुकुम पश्चिम २८, माघ ।
रुकुम पश्चिमका चार पालिकाले सर्वोच्च अदालतको आदेश विपरीत फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । शसस्त्र जनयुद्ध सुरु भएको दिनको सम्झनामा जनयुद्ध दिवस मनाउनका लागि सार्वजनिक विदा दिने निर्णय गरेका हुन् ।
जिल्लाको आठबिसकोट नगरपालिका, चौरजहारी नगरपालिका, बाँफिकोट र सानीभेरी गाउँपालिकाले फागुन १ गते सार्वजनिक विदा दिई जनयुद्ध दिवस मनाउने निर्णय गरेका छन् । पालिकाहरुले सार्वजनिक सूचना जारी गरी सो सार्वजनिक विदाको निर्णय गरेको जानकारी दिएका छन् ।
यसैगरी जिल्ला त्रिवेणीले पनि फागुन १ गते बिदा दिने निर्णय गरेको सुन्नमा आएको छ । तर सूचना सहितको आधिकारिक जानकारी भने भोली आऊने गाऊपालिका अध्यक्ष गणेशकुमार केसीले जानकारी दिनुभयो ।
यसअघि जनयुद्ध दिवसका अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने सरकारी निर्णयविरुद्ध परेको रिटमाथि गत शुक्रवार सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको इजलासले सार्वजनिक बिदा नदिने निर्णय गरेको थियो ।
जनयुद्ध शब्दमा राष्ट्रिय सहमति बनिनसकेको र संक्रमणकालीन न्यायका काममा संलग्न संस्थाको भावी काममा समेत प्रभाव पर्नसक्ने ठहर गर्दै सर्वोच्चले सरकारको सो निर्णय कार्यान्वयन नगर्न गत पुस १३ गते आदेश दिएको हो ।