रुकुम पश्चिम २१, माघ ।
रुकुम पूर्वको तकसेरा गाउँका भेडी गोठालाहरु यसवर्ष पनि भेडा च्याङ्ग्रा सहित रुकुम पश्चिमका विभिन्न ठाँउमा आइपुगेका छन् । हरेक वर्षको हिउँदमा उच्च लेकाली क्षेत्रमा चिसो बढ्ने भएकाले जाडो छल्न रुकुम पश्चिमको बन जङ्गलमा झरेका हुन् ।
चिसो महिनामा लेकाली क्षेत्रमा हिमपात हुने र चरिचरणको समेत अभाव हुने भएकाले चरण क्षेत्र खोज्दै न्यानो ठाउँतिर झर्ने गरेको तकसेरा गाउँकी धनकुमारी बुढाको भनाइ छ । उहाँका अनुसार ६ महिना पाटन र ६ महिना बेंसीमा बस्ने गरिएको छ ।
रोल्पा रुकुम हुँदै हिजोआज मुसिकोट नगरपालिका -७, को ठूलीदह र आसपासको जङ्गल क्षेत्रमा तकसेराका भेडी गोठहरु आइपुगेका छन् । उनीहरू संग झण्डै तीन सय भेडा च्याङ्ग्रा रहेका छन् ।
भेडाच्याङ्ग्रा संगै रुकुम पश्चिम झरेका भेडी गोठालाहरुले चैतको अन्तिम साता मात्रै पाटन फर्किने बताएका छन् । तकसेरा गाउँका अधिकांश बासिन्दाले प्रत्येक घरमा ५० देखि ६ सयको संख्यामा भेडाच्याङ्ग्रा पाल्ने गरेका छन् ।
उनीहरूले भेडा च्याङ्ग्राको उनबाट बनेका कपडाहरु बेचेर परिवारको घर खर्च धान्ने गरेका छन् । तकसेराका भेडीगोठालाहरुले भेडाच्याङ्ग्रा व्यवसायबाट बार्षिक चारदेखि आठलाख सम्मको आम्दानी हुने बताउँछन् ।