रुकुम पश्चिम १६, माघ ।
रुकुम पश्चिमको १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड आज देखि सुरु भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले जिल्ला स्तरिय शिल्डको उद्घाटन गर्नुभएको हो । रनिङ शिल्ड उद्घाटन सत्रमा बोल्दै मुख्यमन्त्री शर्माले शिल्डलाई जित र हारको रुपमा भन्दा पनि क्षमता प्रदर्शनीको अवसरका रुपमा लिनुपर्ने बताउनुभएको छ ।
शर्माले खेलाडीहरुले जिल्ला, प्रदेश र देशलाई चिनाउने एक माध्यमका रुपमा खेलकुदलाई उपयोग गर्न सकिने उल्लेख गर्नुभयो । कार्यक्रममा उहाँले युवाहरु खेलकुदमा मात्र सिमित नभई समाज र युगको नेतृत्व गर्नतर्फ अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । एउटा सफल खेलाडीले खेलक्षेत्र सँगै राजनैतिक, शैक्षिक, सामाजिक, साँस्कृतिक र उत्पादन क्षेत्रको नेतृत्व गर्न सक्ने उहाँको भनाई छ ।
मुख्यमन्त्री शर्माले दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमै आयोजना हुने भएकोले प्रदेश सरकारले अलि बढी बजेट त्यतातर्फ केन्द्रित गरेकोले पालिकास्तरमा बजेट पठाउन नसकिएको जानकारी गराउनुभयो ।
उहाँले विभिन्न स्थानीय तहहरुबाट खेलकुद संरचना र सामग्रीको माग भईरहेकोले उक्त मागहरुको सहज सम्बोधनमा लागेको बताउनुभयो । खेलक्षेत्रको विकासका लागि तीनै तहका सरकारले सहकार्य गरेर अघि बढ्ने उहाँको भनाई छ ।
कार्यक्रममा सहिद दिवसको सन्दर्भ जोड्नुहुँदै उहाँले सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्ने कुरा मात्रै नभएर मनन गर्ने कुरा महत्वपूर्ण हुने बताउनुभयो । उहाँले अरुलाई गरिने अन्यायले कति ठुलो असर पर्छ भन्ने कुराको हेक्का राख्दै फेरि पनि बलिदान गर्ने अवस्था नआओस् भनेर संकल्प गर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा मुख्यमन्त्री शर्माले आर्थिक सम्पन्नता र सामाजिक न्यायकासाथ समृद्धि हाँसिल गर्न सबै एकताबद्ध र केन्द्रिकृत हुन आवश्यक रहेको बताउनुभयो । समाजमा रहेका बिकृति र विसंगतीको अन्त्य गर्न राजनीतिक र सामाजिक क्षेत्रमा सकारात्मक र सिर्जनशिल प्रतिश्पर्धा गरिनुपर्ने उहाँको भनाई छ ।
शिल्ड १८ गते सम्म संचालन हुने छ । शिल्ड जिल्लाको सानीभेरी गाउँपालिकाको बेलटापु खेल मैदानमा सुरु भएको हो । जिल्लाको चौरजहारीमा भएको १३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड समापनका बेला नै सानीभेरी गाउँपालिकाले १४ औँ शिल्ड आयोजना गर्ने गरी झन्डा ग्रहण गरेको थियो । सोही अनुसार यो वर्षको शिल्ड सानीभेरी गाउँपालिकामा हुने भएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख लिलाप्रसाद ढकालले जानकारी दिनुभयो ।
पालिका स्तरीय शिल्डबाट छनौट भएका विद्यार्थीहरूले जिल्ला स्तरीय शिल्डमा प्रतिस्पर्धा गर्ने छन् । शिल्डमा कक्षा १२ सम्मका १८ वर्ष मुनिका विद्यार्थीहरूले प्रतिस्पर्धा गर्न पाउने कार्यालय प्रमुख ढकालले जानकारी दिनुभयो ।
उहाँका अनुसार शिल्डमा छात्र छात्रा भलिबल, कबड्डी, एथलेटिक्स अन्तर्गत ट्र्याक तर्फ विभिन्न दुरीको छात्र छात्रा दौड, उफ्रने र फ्याँक्ने फिल्ड तर्फ छात्र छात्रा हाई जम्प, लङ जम्प, त्रिपल जम्प, ज्याभलिङ थ्रो र सट फुट तथा मार्सल आर्ट तर्फ कराते, तेक्वान्दो गरि विभिन्न ५० वटा इभेन्टमा प्रतिस्पर्धा हुने छ ।
जिल्ला स्तरीय शिल्डबाट कर्णाली प्रदेश स्तरीय शिल्डका लागि विद्यार्थी छनौट गरिएको थियो । यो वर्ष जिल्लाका सबै स्थानीय तहले राष्ट्रपति रनिङ शिल्ड सञ्चालन गरेका छन् ।