रुकुम पश्चिम १०, माघ ।
रुकुम पश्चिमको आँखा उपचार तथा सर्जिकल केन्द्रलाई जिल्ला आँखा अस्पतालको रुपमा स्तरोन्नति गरिने भएको छ । आँखा तथा कान सम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गरि सर्जिकल केन्द्रलाई अस्पतालको रुपमा स्तरोन्नति गरिने भएको हो ।
आँखा उपचार केन्द्रका इन्चार्ज धन बहादुर केसीले आगामी आर्थिक वर्ष भित्रै सर्जिकल केन्द्रलाई जिल्ला आँखा अस्पतालमा स्तरोन्नति गर्ने तयारी रहेको बताउनुभयो । त्यसका लागि प्रदेश सरकार संग बजेट माग गरिएको उहाँको भनाइ छ ।
पछिल्लो केही वर्ष यता सर्जिकल केन्द्रमा रुकुम पश्चिम लगायत रोल्पा, सल्यान, रुकुम पूर्व, डोल्पा र जाजरकोटका बिरामीको उपस्थिति हुने गरेको छ । दैनिक ३५ भन्दा बढीले आँखा सर्जिकल केन्द्रमा कान तथा आँखाको उपचार गराउँदै आएका छन् ।
सोही कारण आँखा र कानको सल्यक्रिया तथा सहज उपचार सेवा प्रवाह गर्ने उदेश्यले आँखा अस्पताललाई स्तरोन्नति गर्ने तयारी गरिएको छ । आँखा सर्जिकल केन्द्रले हाल शिविर मार्फत तीन महीनाको अन्तरमा गाउँ-गाउँमा पुगेर आँखाको सल्यक्रिया गर्दै आइरहेको छ ।
चालु आर्थिक वर्षको साउन देखि हालसम्म करिब चार हजार आँखा र कानका बिरामीले सर्जिकल केन्द्रबाट सेवा लिएको बताइएको छ ।