सानीभेरीमा पुनर्निर्माण सम्बन्धी अन्तरक्रिया
64x64
२०८० माघ ०४ बिहिबार प्रेसपालिका संवाददाता
186 Views

रुकुम पश्चिम ४, माघ ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको दुई स्थानमा आज भूकम्प प्रभावितसंग पुनर्निर्माण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । गाउँपालिकाको आयोजनामा वडानम्बर -२, को गिठाकोट र वडानम्बर -७, को छोटेबगरमा पुनर्निर्माण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।

 

भूकम्पपछिको उद्दार, राहत र अस्थाई टहरा निर्माणपछि पुनर्निर्माणका विषयमा जनप्रतिनिधि, लाभग्राही र सरोकारवाला बीच अन्तरक्रिया गरिएको गाउँपालिकाले बताएको छ ।

 

अन्तरक्रियामा भूकम्प प्रभावित वासिन्दाले तत्काल स्थायी आवासका लागि दीर्घकालीन पुनर्निर्माणको मापदण्ड ल्याउन सरकारलाई आग्रह गरेका छन् ।

 

यसैगरी कार्यक्रममा बोल्दै संघीय सांसद जनार्दन शर्माले प्रभावित क्षेत्रमा अब नयाँ बस्ती सहितको पुनर्निर्माण आवश्यक रहेको बताउनुभएको छ । त्यसका लागि विज्ञ र सरकार संग छलफल गरिसकिएको उहाँको भनाइ छ । त्यस्तै पुनर्निर्माण प्रक्रियामा ढिलाइ नगर्न पनि सरकारको ध्यानाकर्षण गरिएको शर्माले बताउनुभएको छ ।

 

पूर्व अर्थमन्त्री समेत रहनुभएका शर्माले दुई वर्ष भित्र पुनर्निर्माणको काम सक्ने गरि स्थानीय स्रोत साधनको प्रयोग गर्दै भूकम्प प्रतिरोधी संरचना तयार गर्न सबै प्रभावितलाई सुझाव दिनुभएको छ ।

 

जाजरकोट भूकम्पका कारण सानीभेरी गाउँपालिकामा ६ हजार घरपरिवार लाभग्राहीको रुपमा कायम भएका छन् । पालिकामा हालसम्म करिब पाँच हजार अस्थाई टहरा निर्माण भएका छन् । एकहजार बढी टहरा निर्माणकै चरणमा रहेको गाउँपालिकाले बताएको छ ।

 

भूकम्प प्रभावित क्षेत्र रुकुम पश्चिमका सबै पालिकामा पुनर्निर्माण सम्बन्धी विषयमा रहेर प्रभावित र सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रम सुरु गरिएको छ । बुधबार आठबिसकोट नगरपालिकामा सो कार्यक्रम सम्पन्न गरिएको छ । बाँकी पालिकामा पनि पुनर्निर्माण सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरिने बताइएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News