रुकुम पश्चिम ९, पुस ।
रुकुम पश्चिममा पनि आज क्रिसमस (डे) दिवस मनाइएको छ । क्रिश्चियन धर्मावलम्बीहरुले जिल्लामा रहेका चर्चहरुमा प्रार्थना गर्दै एकअर्कामा प्रेम प्रकट तथा शुभकामना उपहार साटासाट गर्दै क्रिसमस दिवस मनाएका हुन् ।
रुकुमेली मिसन समाज रुकुम पश्चिमका अध्यक्ष अबिनाश बुढाका अनुसार जिल्लाका सवै चर्चहरुमा परमेश्वरको बचन मनन गर्नुका साथै विभिन्न कार्यक्रमहरु गरिएको छ । जसअनुसार मुसिकोट ए जि चर्चमा पनि विभिन्न कायक्रम गरि क्रिसमस दिवस मनाएको छ । एकअर्कामा प्रेम प्रकट गर्दै र शुभकामना तथा उपहार साटासाट गर्नुका साथै ६० बर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरिएको मुसिकोट चर्चका पास्टर जवाहरलाल पुनले जानकारी दिनुभएको छ ।
हरेक वर्ष २५ डिसेम्बरमा क्रिश्चियन धर्मका संस्थापक यशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा यस समुदायले क्रिसमस दिवस मनाउँदै आएका छन् ।
आजभन्दा दुई हजार २३ वर्षअघि डिसेम्बर २५ तारिखका दिन यशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो ।
पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मनुभएका यशु ख्रीष्टले तीन मुख्य खुसीयाली दिनुभएको थियो ।
ख्रीष्टले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेका छन् ।
मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको छ ।
विश्वका धेरै मानिसले मनाउने क्रिसमस दिवस नेपालमा भने विसं २०६३ पछि मनाउन थालिएको हो ।