रुकुम पश्चिम ७, पुस ।
रुकुम पश्चिम स्थित यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीले पाँच महीनाको अवधिमा ९३ लाख राजस्व संकलन गरेको छ । चालू आर्थिक वर्षको साउन देखि हालसम्म अर्थात् पाँच महीनामै ९३ लाख १९ हजार ३ सय ६३ राजस्व संकलन गरेको हो ।
यातायात व्यवस्था प्रमुख आनन्द चपाइका अनुसार सवारी दर्ता, ब्लुबुक नवीकरण, लाइसेन्स वितरण, नामसारी, जाँचपास, रुट प्रमिट लगायत सेवाबाट राजस्व संकलन गरिएको छ । गत वर्षको फागुन २१ गते देखि औपचारिक रुपमा सेवा आरम्भ गरेको कार्यालयले हालसम्म २ सय ६४ वटा सवारीसाधन दर्ता गरेको छ । जसमध्ये २ सय ४९ वटा दुईपाङ्ग्रे र १५ वटा चारपाङ्ग्रे सवारी दर्ता गरिएको कार्यालयले बताएको छ ।
त्यस्तै चालू आर्थिक वर्षको साउन २२ गते देखि चालक अनुमतिपत्रको सेवा सुरु गरिएसंगै अहिलेसम्म ८ सय ४३ लाइसेन्स वितरण गरिएको छ । जसअन्तर्गत ७ सय १० मोटरसाइकल, ८७ कार/जिप, ३६ स्कुटी र १० वटा अटोरिक्साका लाइसेन्स कार्यालयबाट वितरण भएका छन् ।
२०७६ भदौ १२ गते स्थापना भएको कार्यालयले ८० बैशाख १५ देखि थप सेवाको रूपमा लाइसेन्स नवीकरणको काम पनि सुरु गरेको थियो ।
दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गर्दै यातायात व्यवस्था सेवा कार्यालयले चौरजहारीबाटै सेवा आरम्भलाई नियमित गरेकाले हाल पहाडी जिल्लाका सेवाग्राहीलाई सजिलो भएको छ । यस कार्यालयबाट रुकुम पश्चिम, सल्यान, जाजरकोट, डोल्पा, रुकुम पूर्व लगायत जिल्लाका नागरिकले सेवा लिने गरेका छन् ।
यसअघि यातायात व्यवस्था सेवा कार्यालयको सेवा लिनका लागि यो क्षेत्रका नागरिक दाङ, सुर्खेत, नेपालगन्ज लगायत बाहिरी जिल्ला जानुपर्ने बाध्यता थियो । जसबाट समय र पैसाको नोक्सानले सेवाग्राही मारमा परेका थिए । अहिले भने यो समस्या अन्त्य भएको सेवाग्राहीको भनाई छ ।
स्थापनाकाल देखि भाडाको घरमा रहेको कार्यालयले हाल चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा ट्रायल सेन्टरलाई पनि भाडामै लिएको छ ।
यता कार्यालय प्रमुख चपाइले भने यसै वर्ष भित्र यातायात व्यवस्था सेवाको आफ्नै भवन र ट्रायल सेन्टर निर्माण हुने बताउनुभएको छ । त्यसका लागि निर्माण कार्य चलिरहेको छ ।