रुकुम पश्चिम २८, मङ्सिर ।
रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रका विद्यालयहरुमा आर्थिक सहयोग गरिएको छ । जापानमा रहेका व्यवसायी तथा विद्यार्थीहरुबाट आर्थिक संकलन गरेर आठविसकोट नगरपालिका, सानीभेरी गाउँपालिका र त्रिवेणी गाउँपालिकाका ५ वटा विद्यालयमा आर्थिक सहयोग गरिएको हो ।
जापानमा व्यवसाय तथा अध्ययन गरिरहेका विद्यार्थीहरुले आर्थिक संकलन गरेर रुकुम पश्चिममा रकम पठाएका थिए । तीन पालिकाका ५ वटा प्रति विद्यालयमा ५० हजारका दरले आर्थिक सहयोग गरिएको छ । नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका सदस्य दिपेन्द्र महताराको समन्वयमा आज विद्यालयहरुमा रकम हस्तान्तरण गरिएको छ ।
जापानबाट २ लाख ६५ हजार ७ सय ५५ रकम विद्यालयहरुको सहयोगका लागि आएको महताराको भनाइ छ । जापानमा रहनुभएका व्यवसायी नरेश ओलीको नेतृत्वमा आर्थिक संकलन गरिएको हो ।
ऊक्त रकम आज जनविकास आधारभुत विद्यालय आठविसकोट नगरपालिका –१२, ठुलीबार्खुमा हस्तान्तरण गरिएको छ ।
त्यस्तै जोलीपीपल आधारभुत आठविसकोट –९, कटेली, आधारभुत विद्यालय घामताप्ने सानीभेरी गाउँपालिका– -५, सरस्वति मावि अर्मा सानीभेरी -१० र हिमालय माध्यामिक विद्यालय त्रिवेणी गाउँपालिका -१०, नुवाकोटमा आर्थिक सहयोग गरिएको छ ।
विद्यालयमा सहयोग गरिएको रकमले विद्यार्थीको आवश्यकता अनुसार सामाग्रि खरिद गरिने भएको छ