रुकुम पश्चिम १, कात्तिक ।
रुकुम पश्चिममा एक महिलाको हत्या आरोपितलाई प्रहरीले आज सार्वजनिक गरेको छ । सदरमुकाम मुसिकोट स्थित एक होटेलमा मृत अवस्थामा फेला परेकी महिलाको हत्या आरोपितलाई प्रहरीले सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार महिला हत्याका आरोपी सानीभेरी गाउँपालिका -९, का ३३ वर्षीय लोकेन्द्र बिक भनिने लोक बहादुर बिक रहेका छन् । हत्या आरोपित बिकले मुसिकोट नगरपालिका -७, की २८ वर्षीया भावना बिकको घाँटी रेटेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ ।
आरोपितले गत सोमबार बिहान होटेल सत्कारको एक कोठामा भावनाको चक्कु प्रयोग गरेर हत्या गरेको प्रहरीले बताएको छ । आरोपितले दिएको बयानमा अघिल्लो दिन दुबैजना होटेलमा सङ्गै बसेको, तर पछिल्लो दिन सामान्य विवाद हुँदा भावनाको हत्या गरेको बिकले स्वीकार गरेको प्रहरीको भनाइ छ । हत्याको कारण भने आर्थिक कारोबार तथा सम्बन्धमा खटपट भएको बताइएको छ ।
प्रहरीले घटनास्थलबाट एकथान चक्कु, चक्कुको खोल, मोबाइल र प्रतिवादीको घरकोठाबाट ८५ हजार बढी रकम बरामद गरेको बताएको छ । घटनाको अनुसन्धान गर्न प्रहरीले तालुक कर्णाली प्रदेश केनाईन शाखा कोहलपुर बाँकेबाट तालिमप्राप्त कुकुर र दक्ष जनशक्ति झिकाएको थियो ।
प्रहरी प्रमुख नमराज भट्टराईका अनुसार हत्या आरोपी बिकलाई कर्तव्य ज्यान मुद्दा शिर्षकमा किटानी जाहेरी परेकाले सम्मानित जिल्ला अदालत रुकुम पश्चिमबाट जरुरी पक्राउ स्वीकृती लिइ प्रहरी हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।