सुपथ मुल्य पसल सञ्चालन
64x64
२०८० असोज २३ मंगलबार प्रेसपालिका संवाददाता
60 Views

रुकुम पश्चिम २३, असोज
रुकुम पश्चिममा सुपथ मुल्य पसल सञ्चालनमा आएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जिल्ला शाखा रुकुम पश्चिमले आजबाट दशैँ तिहारलाई लक्षित गरेर सुपथ मुल्य पसल सञ्चालनमा ल्याएको हो ।

आज एक कार्यक्रमका बिच जिल्ला समन्वय सतितिका उप प्रमुख देवबहादुर विकले सुपथ मुल्य पसलको उद्घाटन गर्नुभयो । दशै तिहार लक्षित गरेर असोज २१ गते देखि मंसिर ३ गतेसम्म सुपथ मुल्य पसल सञ्चालन हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय प्रमुख विनोद चन्दले जानकारी दिनुभयो ।

उहाँका अनुसार दशै तिहारलाई लक्षित गरेर शाखामा ५ सय ६० क्विन्टल स्टिम जिरा मनसुली चामल उपलब्ध भएको छ । सुपथ मुल्य पसलमाबाट साविकको भन्दा प्रतिकिलो ७ रुपैया कम गरेर विक्री गरिरहेको प्रमुख चन्दले जानकारी दिनुभयो ।

हाल शाखामा स्टिम जिरा मनसुली चामल मात्र रहेको छ । पहिले २५ किलोको बोरालार्ई २ हजार ३ सयमा विक्री गर्ने गरिएको थियो । सुपथ मुल्य पसल सञ्चालनमा आएपछि भने प्रतिबोरा १ सय ७५ रुपैयाँ कम अर्थात २ हजार १ सय २५ रुपैयाँमा बेच्ने गरिएको छ । खाद्यबाट एक व्यक्तिले एक वटा चामलको बोरा मात्र लिन पाउनेछन् ।

उपभोक्ताको नाम ठेगाना र सम्पर्क नम्बर टिपेर चामल दिने गरेको शाखा प्रमुख चन्दले जानकारी दिनुभयो । अघिल्लो वर्षमा ३ हजार ७ सय क्विन्टल चामल विक्रि गरेकामा चालु आर्थिक वर्षमा २ सय ५० क्विन्टल चामल विक्री भएको छ । खाद्यको चामल जिल्ला कारागार र गाउँतिर जाने गरेको बताइएको छ ।

चामल धेरै ल्याउँदा बिग्रेर खेर जाने भएकाले दशैँ तिहारलाई लक्षित गरेर ५ सय ६० क्विन्टल चामल ल्याएको हो । शाखामा भएको चामल विक्री भएमा पुनः चामल ल्याएर उपभोक्तालाई वितरण गर्न सकिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जिल्ला शाखा रुकुम पश्चिमले जनाएको छ ।

उद्घाटन कार्यक्रम जिल्ला समन्वय उपप्रमुख विक, सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुबाल, नेपाल प्रहरी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News