रुकुम पश्चिम २२, असोज ।
चाडपर्व नजिकीए सँगै रुकुम पश्चिममा बजार अनुगमनलाई तिव्रता दिइएको छ । दशै तिहारमा महँगी र कालोबजारी हुने भएकाले यसलाई रोक्न बजार अनुगमनलाई तिव्रता दिएको हो ।
जिल्ला प्रशासन कार्यालय र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले सयुक्त रुपमा बजार अनुगमनलाई तिव्रता दिएका छन् । आइतबारदेखि सुरु भएको बजार अनुगमन जिल्लाका सबै बजार क्षेत्रमा अनुगमन गर्ने लक्ष्य लिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय निमित्त प्रमुख मानबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार बागबजारका ५८ किराना र खाद्यन्न पसल अनुगमन गरिएको थियो । आज मुसिकोट नगरपालिकाको वडानम्बर -७, साँखका २० वटा किराना पसल र खाद्यन्न पसल अनुगमन गरिएको छ ।
बजारमा भन्दा गाउँका पसलमा म्याद ग्रुजिएका सामान बढी फेला परेको पाइएको छ । बागबजारमा अनुगमन गर्दा कुनै पनि म्याद ग्रुजिएका सामान फेला नपरेको र आज साँखमा अनुगमन गर्दा १६ हजार ४ सय ६० रुपैयाँ बराबरको चाउचाउ, दालमोट, भुजा, चियापत्ती, चक्लेट लगायतका म्याद ग्रुजिएको सामान बरामद गरिएको निमित्त प्रमुख खत्रीले जानकारी दिनुभयो ।
साँखमा बजार अनुगमन गरेका २० मध्ये १० वटा पसल दर्ता नगरेरै सञ्चालन गरेकाले एक हप्ताभित्र दर्ता गरेर सञ्चालन गर्न भनिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिनुभयो । बागबजारमा अनुगमन गरिएका मध्ये २० वटा पसल दर्ता विना नेै सञ्चालन भएकाले त्यहाँ पनि तुरुन्त दर्ता गरेर सञ्चान गर्न भनिएको छ ।
चाडपर्वमा हुने महँगी र कालोबजारीलाई रोक्न अनुगमनलाई निरन्तरता दिने सहायक प्रमुख जिल्ला अधिकारी बढुवाले जानकारी दिनुभएको छ । बजार अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी बढुवाल, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका निमित्त प्रमुख खत्री, कार्यालयका कर्मचारी, नेपाल प्रहरी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।