निराजन सिर्पाली
रुकुम पूर्व १४, भदौ ।
रुकुमपूर्व सिस्ने गाउँपालिका -५, रुकुमकोटमा रहेको जिल्लाको एक मात्र सिस्ने शिक्षा क्याम्पसमा सेनेटेरी प्याड अब देखि निरन्तर रुपमा निःशुल्क उपलब्ध गरिने भएको छ । क्याम्पसमा रहेको स्ततन्त्र विद्यार्थी युनियन (स्ववियु)को पहलमा अब देखि क्याम्पसमा निःशुल्क सेनेटेरी प्याड उपलब्ध गराइने भएको हो ।
जिल्लाको पुथाउत्तरगंगा, भूमे र सिस्ने गाउँपालिकाले प्रत्येक महिनामा स्ववियुलाई प्याड उपलब्ध गराउने भएको छ । सोही अनुसार तीन वटै गाउँपालिकाले उपलब्ध गराएका प्याड स्ववियु मार्फत क्याम्पसमा अध्ययरत छात्रालाई निःशुल्क वितरण गरिने भएको छ ।
पुथाउत्तरगंगा गाउँपालिकाले पहिलो चरणमा मंगलबार नै १ सय ९८ प्याकेट अर्थात १ हजार ५ सय ८४ वटा प्याड गाउँपालिका अध्यक्ष पुनिराज घर्ती मगर र शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख रामप्रसाद खड्काले स्ववियुका अध्यक्ष जयमान बुढा मगरलाई हस्तान्तरण गर्नु भएको छ ।
भूमे गाउँपालिकाले अर्को महिना देखि स्ववियुलाई प्रत्येक महिना वितरण गर्ने जनाएको छ भने सिस्ने गाउँपालिकाले पनि दुई/तीन दिनमै पहिलो चरणको प्याड उपलब्ध गराउने बताएको छ । तीन वटै गाउँपालिकाले प्रत्येक महिनामा कम्तिमा पनि १ सय वटा प्याकेटका दरमा प्याड वितरण गर्ने जनाएका छन् ।
जिल्लाको एक मात्र क्याम्पसको शिक्षा सुधार तथा शिक्षा प्रदानमैत्री बनाउनमा तीन वटै गाउँपालिकाले यो काम लगायत आफूहरुले सक्ने साथ सहयोग गरिराख्ने प्रतिवद्धता जनाएका छन् । साथै स्ववियुले पनि क्पाम्पसको चौतर्फी विकास तथा अध्ययनरत विद्यार्थीको हक र हितको लागि नयाँ नयाँ कामको लागि क्याम्पस प्रशासन र जिल्ला स्थित सरोकारवालासंगको साथ र सहयोगको लागि अपिल गरेको छ ।