रुकुम पश्चिम ३०, साउन ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले सडक छेउका घर, टहरा र घुम्ती हटाउन अनुरोध गरेको छ । नगर कार्यपालिकाको निर्णयानुसार राप्ती लोकमार्गमा पर्ने सेरीगाउँ, बागबजार, खलंगा, मठ र सल्ले सम्मका सडक छेउका घर टहरा हटाउन एक सूचना मार्फत अनुरोध गरेको हो ।
नगरपालिकाले सडक अधिकार क्षेत्र भित्र मापदण्ड विपरीत निर्माण गरिएका घर, टहरा, घुम्ती लगायतका भौति संरचना तीस दिन भित्र हटाइसक्न भनेको छ । निमित्त प्रमुख विनाराम खड्काका अनुसार अव्यवस्थित भौतिक संरचनाले सडक दुर्घटना बढ्ने र पैदल यात्रीलाई पनि आवतजावतमा समस्या भएकाले घर टहरा हटाउन आग्रह गरिएको छ ।
उहाँका अनुसार तीस दिन भित्र सबै संरचना नहटाएको पाइएमा कानून बमोजिम कारबाही हुने छ ।
त्यस्तै नगरपालिकाले बजार क्षेत्र भित्रका सडक छेउका घरको छतबाट सडकमा पानी आई पैदल यात्रुलाई असर परेको हुँदा छतबाट बग्ने पानीलाइ सडकमा नपर्ने गरी व्यवस्थापन गर्न समेत अनुरोध गरेको छ ।
नगरपालिकाको सूचना