निराजन सिर्पाली
रुकुम पूर्व २२, साउन ।
रुकुम पूर्वको सिस्ने गाउँपालिका वडानम्बर -१, भट्टेचौरकी सपना बुढाको सुत्केरीको क्रममा शिशु सहित मृत्यु भएको घटनालाई लिएर स्वास्थ्य कार्यालय रुकुम पूर्वको पहलमा सरोकारवालाहरुको समन्वयात्मक बैठक बसि घटनाको बारे समिक्षा गरिएको छ ।
साउन २० गते शनिबारका दिन सिस्ने गाउँपालिका वडानम्बर -१, भट्टेचौरकी सपना बुढाको सुत्केरीको क्रममा विकट भौगोलिक अबस्थाका कारण शिशु सहित आमाको पनि मृत्यु भएको थियो । उक्त घटनालाई लिएर स्वास्थ्य कार्यालय रुकुम पूर्व तथा सरोकारवाला निकायहरुबिच घटनाको समिक्षा गरिएको स्वास्थ्य कार्यालय रुकुम पूर्वका ल्याव टेक्निसियन तथा सूचना अधिकारी निम प्रसाद गिरीले बताउनुभएको छ ।
उहाँका अनुसार घटनाको समिक्षा गरि उक्त दु:खद घटनामा मृत्यु हुने सपना बुढाको आत्माको चिर शान्तिको कामना सहित हार्दिक श्रद्धाञ्जलीका साथै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै अबका दिनहरुमा यस्ता खालका घटना हुन नदिन के गर्नुपर्छ भन्ने विषयमा छलफल गरिएको छ । साथै छलफलमा सिस्ने -१, मा तकाल एकीकृत सचेतनामुलक कार्यक्रम लगायत अन्य सचेतनामुलक कार्यक्रम संचालन गर्ने निर्णय पनि गरिएको बताइएको छ ।
मृतक सपनाको पेटमै बच्चाको मृत्यु पहिले नै भइसकेको थियो । त्यहाँ तत्काल पेटबाट मरेको बच्चा निकाल्न नसकिने अवस्था भए पछि रुकुमकोटसम्म पुर्यायाउनलाई पनि बर्खाको बाटो स्ट्रेचरको भरमा निरन्तर झरिको बिचबाट सम्भव नभएपछि बिरामीलाई सिस्ने -१, को भट्टेचौर स्वास्थ्यचौकी राखिएको थियो । हेलिकोप्टरबाट ती महिलाको उद्वार गर्ने प्रयास गरेपनि खराब मौसमको कारण समस्या हुँदा यस्तो समस्या आएको बताइएको छ ।
स्वास्थ्य कार्यालका अनुसार सिस्ने -१, मा अल्ट्रासाउन्ड नहुँदा बच्चा कस्तो अवस्थामा छ भनेर पहिले पत्ता लगाउन सकिएको थिएन । स्वास्थ्यकर्मीले भट्टेचौरमा हजुरलाई सुत्केरी बनाउँदा समस्या पर्छ, अवस्था सामन्य छैन भनेर पहिले नै रुकुम पूर्व अस्पतालमा रिफर गरेका थिए । तर स्वयम मृतक आफैले अटेरी गर्दा यस्तो समस्या आएको स्वास्थ्यकर्मीको भनाई छ ।
उक्त समिक्षा तथा छलफल कार्यक्रममा जिसस उप प्रमुख मोहन बहादुर केसी, सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, उपाध्यक्ष गोपाल रेउले, प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्मा, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, स्वास्थ्यकर्मी लगायतको उपस्थिति रहेको थियो ।