महिला हत्याका आरोपमा दुईजना पक्राउ
64x64
२०८० श्रावन २२ सोमबार प्रेसपालिका संवाददाता
1999 Views

रुकुम पश्चिम २२, साउन ।
रुकुम पश्चिममा एक महिलाको हत्यामा संलग्न भएको आरोपमा दुईजना महिलालाई प्रहरीले पक्राउ गरेको छ । मुसिकोट नगरपालिका -१, सल्लेकी ५२ वर्षीया हस्तकली बुढाथोकीको हत्याका दुई आरोपितलाई प्रहरीले पक्राउ गरेर आज सार्वजनिक गरेको हो ।

प्रहरी नायव उपरीक्षक नमराज भट्टराईका अनुसार मुसिकोट नगरपालिका -१, की २३ वर्षीया सिर्जना बुढा बोहरा र वडानम्बर -५, की ३० वर्षीया शोभा कुमारी सुनार सोनीलाई पक्राउ गरिएको छ । गत शुक्रबार मृतक बुढाथोकी आफ्नै घरको सुत्ने कोठाको ढोकामा बाहिरबाट ताल्चा लगाएको कोठा भित्र मृत अवस्थामा फेला परेपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

सोही क्रममा कर्णाली प्रदेश प्रहरीको विशेष टोली, तालिम प्राप्त कुकुर र रुकुम पश्चिम प्रहरीको संयुक्त  टोलीको सुक्ष्म अनुसन्धानले घटनाका आरोपितलाई पक्राउ गरिएको प्रहरी प्रमुख भट्टराईले बताउनुभएको छ । प्रहरीले आरोपित दुई महिलाबाट  मृतकले प्रयोग गर्ने एकथान मोबाइल, पोते, सुनको सिक्री, तिलहरी, सुनका कानवाली र सुनको चन्द्रमा बरामद गरेको छ ।

हत्याका आरोपित दुई महिला मध्ये ३० वर्षीया शोभाले मृतकका गरगहना आरोपित सिर्जनाबाट आफ्नो सुनचाँदी पसलका लागि किनेर स्वरुप बदलेको अवस्थामा प्रहरीले फेला पारेको बताएको छ ।

आरोपित दुवै जनालाई कर्तब्य ज्यान एवं डाका तथा आपराधिक मुद्दा शिर्षकमा सम्मानित रुकुम जिल्ला अदालतबाट पहिलोपटक ७ दिनको म्याद थप गरेर घटनाको थप अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News