रुकुम पूर्व १४, साउन ।
रुकुम पूर्वको सिस्ने गाउँपालिका वडानम्बर -३, पाङ्गामा खानेपानी अबरुद्ध भएको छ । शुक्रबार परेको अविरल बर्षाका कारण गाउँ नजिकै रहेको खानेपानीको मुहान पुरिएर खानेपानी अबरुद्ध भएको हो ।
वर्षाले रेउत खोलाको पानीको मुहानमा भल पसेर खानेपानीको ट्याङ्की र पाइप पुरेपछि खानेपानी अबरुद्ध भएको स्थानीय लिलाराम खत्रीले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार घरेल टाकुरा, मट, पाथीहाल्ना र बगेधारा टोलमा पानी अबरुद्ध भएको छ । गाउँमा आइरहेको खानेपानी अबरुद्ध हुँदा अहिले पाङगामा खानेपानीको समस्या भएको छ ।
भेलले खानेपानी मुहानमा ठुलो क्षति गरेको वडा अध्यक्ष हेराम खड्काले जानकारी दिनुभएको छ । बर्खे भेलले क्षति गरेको मुहान मर्मत गरि गाउँमा पानी पुर्याउन स्थानीय सरकारले पहल गरिरहेको उहाँको भनाइ छ । स्थानीय बासी र स्थानीय सरकारको साझेदारीमा उक्त विपदको सामना गरिने अध्यक्ष खड्काले बताउनुभएको छ ।
मुहान मर्मत र पाइप व्यवस्थापन नहुँदा सम्म खानेपानीको बैकल्पिक व्यवस्था गर्न उहाँले स्थानीयलाई आग्रह समेत गर्नुभएको छ । जतिसक्दो छिटो खानेपानी मुहान मर्मत गर्ने तिर आफू लागिरहेको उहाँको भनाइ छ ।
शुक्रबार राती आएको वर्षाले फलामे गउँरा, पिपल, पोखरा जोडने सडक खण्ड पनि अबरुद्ध भएको छ । रुकुम पश्चिमको बाँफिकोट -१, र रुकुम पूर्वको सिस्ने -३, को बिचमा पर्ने रेउत खोलामा सडक अबरुद्ध भएको छ। दुई जिल्लाको सिमानामा सडक अबरुद्ध हुँदा आवतजावतमा समस्या भएको बताइएको छ ।