निराजन सिर्पाली
रुकुम पूर्व १०, साउन ।
रुकुम पूर्वमा बुधबार जैविक तथा वनस्पति विषादी प्रयोगशाला उद्घाटन गरिएको छ । जिल्लाकाे भूमे गाउँपालिका -३, तिलपारामा जैविक तथा वनस्पति विषादी प्रयोगशाला उद्घाटन गरिएको हाे ।
एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुम पूर्वको आर्थिक वर्ष ०७९/८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार भूमे गाउँपालिका वड़ानम्बर -२, खावाङ्ग बगरमा मारिङ् बहउद्देश्यीय सहकारी संस्था लिमिटेड र एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुम पूर्वको समन्वयमा प्रयोगशाला सुरु गरिएको छ । कृषि तथा पशुपन्छी स्रोत तथा टेवा कार्यक्रम अन्तरगतको जैविक विषादी उत्पादन तथा प्रवर्द्धन (ट्राइकोडमर्मा) उत्पादन र प्रयोगशाला संचालनका लागि उद्घाटन गरिएको प्रयाेगशालामा जैविक तथा वनस्पति विषादीकाे उत्पादन गर्ने मेसिनको परिक्षण गर्ने बाटो खुलाईएकाे बताइएको छ ।
जैविक तथा वनस्पति विषादी प्रयोगशाला सञ्चालन गर्न १२ लाख ७ हजार रुपैयाँ लागत रहेको मारिङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले जानकारी दिएको छ । प्रयाेगशालामा लेमिनार एयर फ्लो केविनेट, अटोक्लेभ, फ्रिज, इन्कुवेटर, वाटर डिस्टिलेन्सर च्याम्बर तथा अन्य प्रयाेगशालामा प्रयाेग हुने सम्बन्धित सामग्रीहरु एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुम पूर्वको समन्वयमा कृषि तथा पशुपन्छी स्रोत तथा टेवा कार्यक्रम अन्तरगत सहयोग भएको छ ।
कार्यक्रममा बाेल्दै जिल्ला समन्वय समिति रुकुम पूर्वका उप-प्रमुख माेहन बहादुर केसीले स्वास्थ्य र कृषि दुवै मानव जीवनका परिपूरक अथवा मानव स्वास्थ्य र कृषिको कहीँ न कहीँ अदृश्य तरिकाले सम्बन्ध हुने बताउनुभएको छ ।
त्यस्तै मारिङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष रामसुर बुढा मगरले अर्गानिक जिल्ला घोषणा भएपछि जिल्लामा कुनै पनि किसिमका विषादी तथा बाहिरक केमिकल राेक्न र निरुत्साहित गर्न आफुहरुले जैविक तथा वनस्पति विषादी प्रयोगशाला सञ्चालनमा ल्याएको बताउनुभएको छ ।