निराजन सिर्पाली
रुकुम पूर्व ६, साउन ।
रुकुम पूर्वमा लम्पी स्किन राेगबाट प्रभावित पशुहरुकाे विवरण सार्वजनिक गरिएको छ । एकीकृत कृषि तथा पशुपंन्छी विकास कार्यालय रुकुम पूर्वले लम्पी स्किन राेगबाट प्रभावित पशुहरुकाे विवरण सार्वजनिक गरेकाे हाे ।
जसअन्तर्गत सिस्ने गाउँपालिकामा २ सय २० पशु चौपायाहरु मरेका छन् । १ हजार ८ सय ७५ पशु चौपायाहरुकाे उपचार भएकोमा ३ हजार ४ सय ४८ पशु चौपायाहरु संक्रमित भएकाे पाइएको छ । त्यस्तै भूमे गाउँपालिकामा ६८ पशु चौपायाहरु मरेका छन् । ३ हजार ६ सय ४८ पशु चौपायाहरुकाे उपचार भएकोमा ३ हजार ७ सय १६ पशु चौपायाहरु संक्रमित भएको कार्यालयकाे विवरणमा छ ।
यसैगरी पुथा उत्तरगंगा गाउँपालिकामा ४ सय ७ पशु चौपायाहरु मरेका छन् । २ हजार ४ सय २३ पशु चौपायाहरुलाई उपचार गरिएकोमा ५ हजार ७० पशु चौपायाहरु लम्पी स्किन राेगबाट संक्रमित भएका छन् ।
जसमा जिल्लाभर ६ सय ९५ पशुहरु मरेका छन् । ७ हजार ९ सय ४६ पशु चौपायाहरुलाई उपचार गरिएको छ । १२ हजार २ सय ७१ पशु चौपायाहरु लम्पी स्किन राेगबाट प्रभावित भएका छन् ।
‘लम्पी स्किन’ भनिने यस नयाँ रोग लागेका गाईभैंसीमा उच्च ज्वरो आउने र शरीरभरि साना–ठूला गिर्खा देखिने लक्षण देखिएको छ। उच्च ज्वरो (१०४ फरेनहाइट वा माथि) आउने र शरीरभरि साना-ठूला गिर्खा देखिने लक्षण गाईमा देखिने गर्दछ । शरीरका विभिन्न ठाउँहरु विशेषगरी घाँटी, पछाडिको भाग, पेट र थुनवरिपरि १० देखि ५० मिलिमिटरसम्मका गिर्खा देखिने गरेकाे एकीकृत कृषि तथा पशुपंन्छी विकास कार्यालय रुकुम पूर्वका कार्यालय प्रमुख पिताम्बर बस्नेतले बताउनुभएको छ ।
यसका साथै कचेरा निकाल्ने, सिँगान बग्ने तथा फिँज धेरै निकाल्ने, ‘लिम्फ नोड’हरू सुनिने, घाँटी तल पानी भरिने, दूध उत्पादन ८० प्रतिशतसम्म घट्ने, गर्भ तुहिने र पछि बाँझोपन देखिने जस्ता लक्षण यस रोगमा देखिने बताइएको छ ।
पछिल्लो समय यो राेग देशैभरी महामारीको रुपमा फैलिंदै गएको छ ।