निराजन सिर्पाली
रुकुम पूर्व १, साउन ।
रुकुम पूर्वलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । आइतबार एक कार्यक्रमको आयोजना गरि रुकुम पूर्वलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।
स्थानीय स्रोतको उपयोग स्वामित्व र सहभागिता पुर्णखोपको सुनिश्चितता हाम्रो प्रतिबद्धता भने मूल नाराका साथ पूर्ण सुनिश्चितता जिल्ला घोषण गरिएको छ ।
लुम्बिनी प्रदेशसभा सदस्य दिलकुमारी बुढाले ब्यानर पढेर तथा प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेर जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नुभएको छ ।
स्वास्थ्य कार्यालयका प्रमुख नारायण प्रसाद चौधरीका अनुसार प्रत्येक वर्ष जन्मेदेखी १५ महिनासम्ममा लगाउने १३ प्रकारका खोप लगाएका छन् या छैनन् भनी सुनिश्चितताका लागी १६ देखी ५ वर्षको बालबालिकाको घरधुरी सर्वेक्षण गरी छुट भए नभएको एकिन गरि वडास्तरीय खोप समन्वय समितिबाट सुनिश्चित भइ पालिकास्तरीय सुनिश्चितता गरिएको छ ।
यो संगै रुकुम पूर्वमा रहेका जन्मेदेखी ५ वर्षसम्मका सम्पूर्ण बालबालिकाले सम्पूर्ण १३ प्रकारका खोपको मात्रा पाइसकेपछि जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको बताइएको छ ।
आर्थक वर्ष ०७९/८० मा जिल्लाको कुल जनसख्या ५८ हजार ७ सय ८६ रहेकोमा गत वर्ष खोप लगाउने लक्षित जनसंख्या जन्मेदेखी १२ महिनासम्मका बालबालिका १ हजार १ सय ८६ जना र १२ महीनादेखी २३ महीनासम्मका बालबालिका १ हजार १ सय ९२ जना रहेका थिए । यसमा १ हजार ६६ जना बालबालिकालाई बिसिजी, १ हजार ८९ लाई दादुरा खोप लगाइएको थियो ।
वडास्तरमा घरधुरी सर्वेक्षण गर्दा जन्मेदेखी १५ महिनासम्मका १ हजार २ सय ७८ जना र १६ महिनादेखी ५ वर्षसम्मका २ हजार ४ सय ८६ जना सबै बालबालिकालाई खोप लगाएको पाईएको छ । त्यसपछि जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।
जिल्लामा एउटा प्रदेशस्तरीय ५० बेडको प्रदेशस्तरीय अस्पताल र एउटा आयुर्वेद स्वास्थ्यकेन्द्र, स्वास्थ्य कार्यालय गरी जम्मा ४३ वटा स्वास्थ्य संस्था छन् । ५५ वटा खोप क्लिनिक, ३२ वटा गाउँघर क्लिनिक, १ सय ७८ स्वास्थ्य जनशक्ति, १ सय ४२ जना महिला स्वास्थ्य स्वयमसेविका रहेका छन् । यस्तै विभिन्न गैर सरकारी संघसंस्थाहरुले पनि स्वास्थ्यको क्षेत्रमा विभिन्न काम गर्दै आएका छन् ।
अहिले रुकुम पूर्वमा एउटा वडामा एउटा स्वास्थ्य संस्था रहनेगरी १५ वटा वडामा स्वास्थ्यचौकी, एउटा प्राथमिक स्वास्थ्य केन्द्र, १५ वटा आधारभूत स्वास्थ्यकेन्द्र र ९ वटा अतिरिक्त सामुदायिक स्वास्थ्यकेन्द्र छन् ।