निराजन सिर्पाली
रुकुम पूर्व ३०, असार ।
रुकुम पूर्वका सरकारी सवारी साधनका चालकहरुलाई शनिबार दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियममा आधारित सचेतनामुलक कार्यक्रम प्रदान गरिएको छ । हर प्रहर, गाउँ र नगरी, टाेल टाेलमा नेपाल प्रहरी भन्ने मूल नाराका साथ जिल्ला प्रहरी कार्यालय रुकुम पूर्व र जिल्ला ट्राफिक कार्यालय रुकुम पूर्वकाे संयुक्त आयाेजनामा रुकुम पूर्वमा रहेका सरकारी सवारी साधनका चालकहरुलाई सचेतनामुलक कार्यक्रम गरिएको हाे ।
कार्यक्रममा ट्राफिक नियम सम्बन्धि जानकारी तथा प्रस्तुतिकरण जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक सन्दिप विकले गर्नुभएको छ । उहाँले ट्राफिक नियम, सवारी दुर्घटना, सवारी दुर्घटना हुने मुख्य कारण, ट्राफिक व्यवस्थापन लगायत विषयवस्तुमा आधारित रहेर प्रस्तुतिकरण राख्नुभएको छ ।
त्यस्तै निरीक्षक विकले ओभर स्पीड तथा ओभर कन्फिडेन्स हुनु, नसा सेवन गरेर सवारी चलाउनु , विदेशकाे तुलना गर्दै नेपालकाे सडकमा सवारी हाँक्नुले दुर्घटना बढ्ने भएकाले ट्राफिक नियम सम्बन्धी कानुनी सजाय तथा संविधानका बारेमा जानकारी गराउनुभएको छ ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि तथा प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले सवारी चालककाे सानो लापरबाहीले ठुलो धनजनको क्षति हुने बताउनुभएको छ । “उहाँले भन्नुभयो, चालकको हातमा हाकिम देखि सर्वसाधारण सम्मको जीवन हुन्छ । गाडी चलाउँदा नसाको सेवन र फाेन भुल्नु आदिले सबैभन्दा बढी दुर्घटना निम्त्याएको छ । त्यसैले यी सबै कुराहरूलाई ध्यानमा राखी ट्राफिक नियमको पालना सबैले गर्नुपर्ने र अझ सरकारी सवारीसाधनका चालकहरूले त झनै याे कुरा राम्रोसँग पालना गर्नुपर्ने बताउनुभएको छ ।”
सचेतनामुलक कार्यक्रम जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब निरीक्षक तथा डिएसपी अञ्जना श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न भएको थियो ।