रुकुम पूर्व १४, असार ।
रुकुम पूर्वमा डेंगी मलेरिया जस्ता किटजन्य रोग सार्ने लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान तथा कार्यक्रम सम्पन्न भएको छ । आज स्वास्थ्य कार्यलय रुकुम पूर्वको आयोजनामा डेंगु मलेरिया जस्ता किटजन्य रोग सार्ने लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान तथा कार्यक्रम सम्पन्न भएको हो ।
विशेष गरी कार्यक्रममा डेंगी तथा मलेरिया लाग्ने कारण, लामखुट्टेले टोक्ने समय, लामखुट्टे वृद्धि विकास हुने स्थान, यसका लक्षणहरु, बच्ने उपाय, डेंगी ज्वरोको उपचार, लामखुट्टे वृद्धि विकासलाई नियन्त्रण गर्ने जस्ता विषयहरुमा जानकारी तथा प्रशिक्षण गराइएको छ । कार्यक्रममा डेंगी रोगका बारेमा जानकारी तथा खुला रुपमा राखिएका ड्रम तथा विशेष गरी ग्यारेजहरुमा राखिएका टायरहरुको अनुगमन तथा टायर व्यवस्थापनका लागि सुझाव दिइएको स्वास्थ्य कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।
जिल्ला समन्वय समिति प्रमुख मेघ बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी को प्रमुख आतिथ्यता लगायत जिल्लाका सरोकारवाला अतिथिको उपस्थिति रहेको बताइएको छ । कार्यक्रमको सञ्चालन जनस्वास्थ्य निरीक्षक श्याम सुन्दर चौधरीले गर्नुभएको थियो ।