रुकुम पश्चिम १४, असार ।
रुकुम पश्चिममा भ्रष्टाचार विरुद्ध सुशासन अभियान सुरु भएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा देखिएको बेथितिलाई अन्त्य गर्न बिहिवार देखि सुशासन अभियान सुरु भएको हो ।
पत्रकार सम्मेलन मार्फत अभियानका संयोजक डिल्लीराज शर्माले विकासका नाममा हुने लुटपाट र राज्यको रकम हिनामिना पार्ने प्रवृत्ति विरुद्ध अभियान सुरु गरिएको बताउनुभएको छ । बेथिति र भ्रष्टाचार रोक्न तीन वटा विषयगत उदेश्य निर्माण गरेर जिल्लाभर सुशासन अभियान संचालन गरिने शर्माको भनाइ छ ।
जस अनुरुप पहिलो प्राथमिकतामा बेथितिलाई अन्त्य गर्न जनताको आवाज बोल्ने, स्थानीय तहमा भएको भ्रष्टाचार अन्त्य गर्ने र नीतिगत बेथिति कम गर्न सामाजिक समसामयिक बेथिति विरुद्ध लागिपर्ने बताइएको छ ।
त्यस्तै अभियानले बेथिति विरुद्ध प्रश्न सवाल गर्ने र त्यसको जानकारी व्यापक रुपमा जनतासम्म लाने तयारी गरेको छ । अभियान मार्फत भ्रस्टाचार र बेथिति नरोकिएकोमा अन्ततः कानुनी रुपमा जाने र जनकारबाहीमा जाने पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको छ ।
यसका लागि सुरक्षा र सल्लाहकारको टिम बनाएर जाने भ्रष्टाचार विरुद्ध सुशासन अभियान रुकुम पश्चिमले बताएको छ ।