रुकुम पश्चिम ११, असार ।
शान्ति सुरक्षाको माग गर्दै नेपाल लघुवित्त बैंकर्स संघले आज देशभरीका ७७ वटै जिल्ला सिडिओ कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । लघुवित्त विरुद्धका गतिविधिले कर्मचारीमाथि कालोमोसो र कुटपिट गर्न थालेपछि शान्ति सुरक्षाको माग गर्दै ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
लघुवित्त संस्था विरुद्ध विगतदेखि केही व्यक्ति तथा राजनीतिक समूहले ‘लघुवित्तीय विरुद्धको संघर्ष समिति’ नामको अवैधानिक समूहले विभिन्न गतिविधि गरेकाले कारवाही गर्न माग लघुवित्तकर्मीहरुले गरेका छन् ।
‘अवरोध श्रृजना गर्ने, कपोलकल्पित आक्षेप लगाई अनर्गल प्रचार प्रसार गर्ने, वित्तीय संस्था जस्तो अत्यावश्यक सेवा अवरुद्ध गर्ने नियतले वित्तीय संस्थाको कार्यालयमा ताल्चा लगाउने, लघुवित्तकर्मीलाई कार्यक्रम बन्द गर्न धम्की दिई मनोबल कमजोर गराउने, कर्मचारीहरु माथि हातपात गर्ने, रकम कलम लुटपाट गर्ने, सदस्यहरुलाई वित्तीय सेवा उपयोग गर्न बाधा पुयाई लघुवित्तलाई नै धराशायी गराउने जस्ता कानून विपरितका गतिविधि भईरहेका छन्,’ लघुवित्त बैंकर्स संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
उक्त समूहले गैर कानूनी रुपमा लघुवित्तका सदस्यबाट ५ सय रुपैयाँदेखि २ हजार रुपैयाँसम्म शुल्क उठाई करोडौं रुपैयाँ दुरुपयोग गरेको संघको आरोप छ । कर्जा लिएर नतिर्ने, अटेरी गर्ने, वित्तीय अनुशासन नभएका, मादकपदार्थ सेवन गर्ने र समाजमा आर्थिक रुपमा बदनाम भएकाहरु ब्यक्तिहरु लघुवित्त विरुद्धका गतिविधिमा संलग्न रहेको संघको दावी छ ।
‘बैंकबाट थोक कर्जा लिई र समूहका सदस्यहरुबाट बचत संकलन गरी ऋण लिन चाहने सदस्यहरुको माग र आवश्यकता अनुसार विधि पूरा गरी लगानी भएको कर्जा मिनाहा गर्ने, निःशुल्क कर्जा प्रवाहको माग तथा लघुवित्त संस्थाहरुनै खारेज गर्नुपर्छ जस्ता विषय जो हामी संग असम्बन्धित र अस्वभाविक मागहरु राखी निरन्तर रुपमा हाम्रो नियमित काममा बाधाव्यवधान गरिरहेको अवस्था छ,’ विज्ञप्तिमा भनिएको छ ।
लाखौं जनताको बैंकिङ्ग प्रतिको भरोसालाई प्रत्यक्ष प्रभावपारी समग्र देशको अर्थतन्त्रमा नकरात्मक प्रभाव पार्ने जस्ता गैर कानूनी गतिविधिहरु भैरहेकाले उक्त स्वार्थ समूहको आन्दोलनका नाममा भएका अवाञ्छित गतिविधि तत्काल बन्दगरी शान्ति सुरक्षाको आवश्यक प्रबन्ध मिलाउन लघुवित्त बैंकर्स संघले अनुरोध गरेको छ ।
यसैगरी लघुवित्त कर्मचारी मञ्च रुकुम पश्चिमले पनि आज प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्त मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । मञ्चले लघुवित्त कार्यक्रमलाई नै धराशायी गराउने जस्ता कानून विपरितका गतिविधि गर्दै आईरहेकालाई कानुनको दायरामा ल्याई लघुवित्त कार्यक्रम सञ्चालनमा आवश्यक सहयोग गर्न अनुरोध गरेको छ ।