रुकुम पश्चिम १०, असार ।
रुकुम पश्चिमका पाँचवटा पालिकाले आज आगामी वर्षको बजेट सार्वजनिक गर्न लागेका छन् । जिल्लाको चौरजहारी नगरपालिका बाहेक अन्य पाँच पालिकाले एकैपटक आर्थिक वर्ष ०८०/८१ को बजेट प्रस्तुत गर्न लागेका हुन् ।
स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार हरेक पालिकाले असार १० भित्रै बजेट प्रस्तुत गर्नुपर्ने भनिएको छ । सोही बमोजिम मुसिकोट, आठबिसकोट, बाँफिकोट, त्रिवेणी र सानीभेरीले गाउँ तथा नगरसभा मार्फत आगामी वर्षको बजेट सार्वजनिक गर्न लागेको बताएका छन् ।
जसमध्ये सानीभेरी गाउँपालिका बाहेक अन्य चारवटा पालिकाले एकैसाथ नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्ने भएका छन् । सानीभेरीले भने केही दिन अघि आगामी वर्षको नीति तथा कार्यक्रम पारित गरिसकेको छ । उसले आज बजेट मात्रै प्रस्तुत गर्ने भएको छ ।
बजेट सार्वजनिक गर्ने अन्तिम समय असार १० अघि प्रत्येक पालिकाले आगामी वर्षका लागि प्रस्तुत गरिने नीति तथा कार्यक्रम पास गरिसकेको हुनुपर्छ । तर जिल्लाका चार पालिकाले आज एकैसाथ नीति तथा कार्यक्रम सहितको बजेट प्रस्तुत गर्न लागेका छन् । कुनै पालिकाले भने आज प्रस्तुत गरिने नीति तथा कार्यक्रम उपर अझै छलफल गरेर सो बमोजिम केही दिन पछि बजेट सार्वजनिक गर्ने बताएका छन् ।
जिल्लाको चौरजहरी नगरपालिकाले भने यसअघि नै आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरिसकेको छ ।