रुकुम पश्चिम २२, जेठ ।
रुकुम पश्चिमको जिल्ला अस्पताल सल्लेमा आज आँखा सर्जिकल सेन्टर सेवा उद्घाटन गरिएको छ । नेपाल नेत्रज्योति संघको पहल तथा राप्ती आँखा अस्पताल दाङको सहयोगमा सर्जिकल सेन्टर उद्घाटन गरिएको हो ।
नेत्र ज्योति संघ रुकुम पश्चिमका सभापति शिवराम खत्रीका अनुसार जिल्लाको आवश्यकता र सेवाग्राहीको मागका आधारमा सर्जिकल सेन्टरको सुरुवात गरिएको छ । यसबाट रुकुमेली नागरिकले अब जिल्लामै आँखाको सल्यक्रिया गर्न पाउने भएका छन् । त्यस्तै ठूलो आर्थिक रकम खर्चेर जिल्ला बाहिर जानुपर्ने बाध्यताको समेत अन्त्य भएको नेत्र ज्योति संघका सभापति खत्रीले बताउनुभएको छ ।
तर आँखा सर्जिकल सेन्टरका लागि थप उपकरण तथा अन्य व्यवस्थापन गर्न केही समय लाग्ने भएकाले आगामी आर्थिक वर्षदेखि सर्जिकल सेवाको थालनी गरिने बताइएको छ । २०६८ सालमा स्थापना भएको नेत्र ज्योति संघ रुकुम पश्चिमले १२ वर्ष पछि आँखा सर्जिकल सेन्टरको उद्घाटन गरेको छ ।
सर्जिकल सेन्टरको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख लुम्बिनी गौतम केसीले उद्घाटन गर्नुभएको हो । यसैगरी आँखा सर्जिकल सेन्टर उद्घाटन कार्यक्रमको समारोहमा ६ वटै पालिकाका पूर्व प्रमुख तथा अध्यक्ष, विभिन्न संघ संस्था र व्यक्तिहरु गरी २० जनालाई सम्मान पत्र मार्फत सम्मान गरिएको छ ।