दिपेन्द्र महतारा
रुकुम पश्चिम १९, जेठ ।
रुकुम पश्चिमको चौरजहारीमा रहेको यातायात व्यवस्था सेवा कार्यालयले सेवा आरम्भ गरेसङ्गै दुर्गम क्षेत्रका सेवाग्राहीलाई राहत मिलेको छ । चौरजहारी कार्यालयबाटै सवारी दर्ता र नवीकरण लगायत सेवा संचालनले रुकुम पश्चिम, सल्यान, जाजरकोट, डोल्पा लगायत जिल्लाका नागरिकलाई राहत मिलेको हो ।
२०७६ भदौ १२ गते स्थापना भइ सेवा बिहिन बनेको कार्यालयले २०७९ फागुन २१ गते बाट सेवा आरम्भ गरेदेखि त्यसयता सेवाग्राहीलाई बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको छ । मुसिकोट नगरपालिका -३, की हिरा गहतराजले यातायात व्यवस्था कार्यालय चौरजहारीबाट सहज रुपमा सेवा लिन पाएकोमा खुसी व्यक्त गर्नुभएको छ । `पहिले सवारीसाधन दर्ता र नवीकरणका लागि दाङ्ग नेपालगन्ज जानुपर्थ्यो, अहिले चौरजहरीबाट यो सेवा सुरु भएको छ, यसबाट पैसाको पनि बचत र समयको पनि बचत भएको छ, उहाँले भन्नुभयो ।´
गहतराज जस्तै हिजोआज धेरैजसो सेवाग्राहीले यातायात कार्यालय चौरजहारीबाट छिटो र छरितो ढङ्गले सेवा लिन पाएका छन् । कार्यालयले समेत सेवाग्राहीलाई मध्यनजर गर्दै यातायात कार्यालयबाट प्रदान गरिने सेवा विस्तारलाई थप गर्दै लिएको छ । कार्यालय प्रमुख आनन्द चपाईले यातायात कार्यालयबाट हाल सवारी दर्ता, नामसारी, जाँचपास, रुट प्रमिट जारी, ब्लुबुक नवीकरण र लाइसेन्स नवीकरणको सेवा प्रदान भैरहेको बताउनुभएको छ । त्यस्तै कर तथा गैर कर राजस्व असुली, प्रशिक्षण केन्द्र प्रालि/वर्क सप दर्ता, प्रालि पञ्जिकरण लगायतको सेवा पनि दिइएको उहाँको भनाइ छ । कार्यालयबाट सेवा आरम्भ भए देखि हाल्सम्म ४ सय ५० बढी सेवाग्राहीले सेवा लिएका छन् । झन्डै १ सय लाइसेन्स नवीकरण गरिएको छ ।
१९ लाख बढी राजस्व असुली
यातायात व्यवस्था सेवा कार्यालय चौरजहरीले १९ लाख बढी राजस्व असुली गरेको छ । २१ फागुनमा कार्यालयले सेवा आरम्भ गरे पनि करिब तीन महीनाको अवधिमा १९ लाख ५ हजार ९ सय ६० राजस्व असुली गरिएको बताएको छ । कार्यालय प्रमुख चपाईका अनुसार सवारी साधन करबाट १६ लाख ८७ हजार ४० रुपैयाँ र चालक अनुमति पत्र, सवारी दर्ता किताब ब्लु बुक सम्बन्धी दस्तुरबाट २ लाख १८ हजार ९ सय २० रुपैयाँ असुली गरिएको छ ।
सेवा आरम्भ देखि हालसम्मको उपलब्धि
यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीले सेवा आरम्भ गरे देखि हालसम्म महत्त्वपूर्ण ६ उपलब्धि हासिले गरेको जानकारी दिएको छ । जस अन्तर्गत भाडाको घरबाट नगरपालिकाको सामुदायिक भवनमा सरेर सेवा प्रदान गरेको, लाइसेन्स जारी गर्न प्रक्रिया अगाडि बढाएको तथा कार्यालयको भवन निर्माणका लागि जग्गा उपलब्ध गराएको छ । त्यस्तै सेवाग्राहीलाई ओत लाग्ने जस्तापाताको ट्रस्ट निर्माण गरिएको, ट्रायल सेन्टरका लागि जग्गा उपलब्ध गरिएको र कार्यालयको सेवालाई प्रभावकारी र चुस्त बनाईएको बताएको छ ।
लाइसेन्स तथा ट्रायल परीक्षाको तयारी
यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीले सेवाग्राहीको माग र आवश्यकतालाई मध्यनजर गर्दै आगामी आर्थिक वर्ष ०८०/८१ मा चालक अनुमति पत्र लाइसेन्सको लिखित तथा ट्रायल परीक्षा लिने व्यवस्थाको तयारी गरेको छ । हाल लाइसेन्स जारी गर्ने प्रक्रिया अगाडि बढाएकाले सम्बन्धित निकायबाट त्यसको स्वीकृति प्राप्त हुनासाथ कार्य थालनी गरिने बताइएको छ । त्यस अगावै कार्यालयले छिट्टै टेन्डर आह्वान गरेर ट्रायल सेन्टर तथा कार्यालयको भवन निर्माण गर्ने जानकारी दिएको छ ।