रुकुम पूर्व, १० जेठ ।
रुकुम पूर्वको सिस्ने गाउँपालिका वडानम्बर -६, छिप्रिदहमा दलित सम्बन्धि जागरण तथा प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न भएको छ । दलित सम्बन्धी जागरण सञ्चालक समितिको आयोजना तथा सिस्ने गाउँपालिकाको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा दलित समुदायको चेतना स्तर बढाउन र पछिल्लो समय दलित समुदायहरु प्रति समाजको हेर्ने दृष्टिकोण, दलित हक हित र साझा मुद्दाको विषयमा रिपोर्टिङ, बहस तथा छलफल गरिएको छ ।
कार्यक्रममा सहभागीहरुले दलित कोटा र दलित शब्दलाई राज्यले हटाउनुपर्ने आवाज गाउँ तथा बस्तीहरु बाट उठाउनु पर्ने माग राखेका छन् ।
कार्यक्रमका प्रमुख प्रशिक्षक उपेन्द्रलाल कामीले दलित अब भौतिक रुपमा र बैचारिक रुपमा जाग्नु पर्ने बताउनुभएको छ । कुनै पनि व्यक्ति सक्षम तथा जागरुप हुनका लागि व्यक्तिको काम र व्यवहार नै मुख्य कारण रहेकाले यस्ता कुराहरुलाई विषेश ध्यान दिनुपर्ने बताउनुभएको छ। हरेक कुराको चासो राख्न र खबरदारीका साथै अधिकार खोज्न पनि सबैलाई आग्रह गर्नुभएको छ ।
पछिल्लो समय दलितहरुले जात फेर्ने क्रम बढ्दो रहेकोमा आफ्नो आपत्ति रहेको बताउनुभएको छ । यो राष्ट्रिय बहस भएकाले त्यत्तिकै जात फेर्दैमा समस्याको समाधान नहुने कामीको भनाइ छ ।
त्यस्तै दलित उत्थान बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हर्कबिर कामीले जात फेर्दैमा हामीलाई गर्ने व्यवहार तथा दैनिक चालचलनमा कुनै छुट्टै परिवर्तन नहुने बताउनुभएको छ । केही विषयहरु गहिरो अध्ययन तथा छलफल र बहसबाट जनुपर्ने भएकाले सबैको राय सुझाव सहित अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।
दलित सम्बन्धि जागरण सञ्चालक समितिका अध्यक्ष वलबहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा सिस्ने गाउँकार्यपालिका सदस्य थलबिर सार्कीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै सिस्ने गाउँकार्यपालिका सदस्य सुर्य नेपाली, प्रमुख प्रशिक्षक उपेन्द्रलाल कामी, दलित उत्थान बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हर्कबिर कामी, निर्वाचित वडा सदस्यहरु लगायत दलित अगुवाहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन पत्रकार विक्रम परियारले गर्नुभएको थियो ।