रुकुम पूर्व १,जेठ ।
रुकुम पूर्वको रुकुमकोटमा रहेको हेलिप्याड संचालनले जिल्लाबासीलाई सहज हुँदै गएको छ । केही वर्ष अघिदेखि सिस्ने गाउँपालिका -५, रुकुमकोटबाट संचालनमा रहेको हेलिप्याडले बिरामीको उद्दार गर्न सहज भएको हो ।
जिल्लामा हेलिप्याड संचालन भएदेखि जटिल अवस्थाका सुत्केरी र बिरामीलाई हेलिकोप्टरको सहायताले नेपालगन्ज र काठमाडौं लिन सहयोग पुगेको नागरिकको भनाइ छ । त्यस्तै प्राकृतिक प्रकोप तथा सवारी दुर्घटनाका घाइतेको तात्कालिक उद्दार गरेर जिल्ला बाहिर पठाउन समेत सहज भएको बताइएको छ ।
यहाँको हेलिप्याड केही वर्ष अघि नेपाली सेना र स्थानीय सरकारको संयुक्त पहलमा निर्माण गरिएको हो । झन्डै १० लाख रकम खर्चेर निर्माण गरिएको हेलिप्याड चौबीसै घण्टा प्रयोग गर्न सकिने सिस्ने गाउँपालिका उपाध्यक्ष गोपाल रेउलेले बताउनुभएको छ । उहाँका अनुसार हेलिप्याड सुरक्षा र निगरानीका लागि सिसि क्यामेरा जडान गरिएको छ ।
त्यस्तै रात्रीकालिन समयमा हेलिकोप्टर बस्न र उड्नका लागि हेलिप्याडमै बत्ती जडान गरिएको गाउँपालिकाले बताएको छ ।