सत्य बटाला
रुकुम पश्चिम २६, बैशाख ।
आठबिसकोट नगरपालिकाले बजारमा छड्के अनुगमनलाई तीव्र पारेको छ। यसअघि प्रायः चाडपर्वका समयमा मात्र अनुगमन गरिन्थ्यो। पछिल्लो समयमा भने नगरपालिका भित्र रहेका विभिन्न बजारमा छड्के अनुगमन गर्न थालिएको हो। गुणस्तरहिन, म्याद गुज्रिएका खाद्यवस्तुको अनुमगन थालिएको छ। नगरभित्रका वडामा रहेका बजारमा छड्के अनुगमन थालिएको छ।
आठबिसकोट नगरपालिकाका उपप्रमुख धन कुमारी शाहीको नेतृत्वमा अनुगमन थालिएको छ। अनुगमन टोलीमा आठविसकोट नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मणिराज शाह,नगरपालिकाका शिक्षा अधिकृत इन्द्र बिष्ट, नरेन्द्र कार्की, रोजगार संयोजक कमल भट्टराई, योजना अनुगमन शाखाका प्रमुख राजु परियार, वडानम्वर -९, का वडाध्यक्ष जनक बहादुर बटाला, नगरप्रहरी र नेपाल प्रहरी पत्रकार लगायतको सहभागिता रहेको छ।
टोलीले आठबिसकोट नगरपालिका-९, राडी बजार र ११ नम्वर वडाको सिमबजारमा रहेका किराना पसल, होटल, बेकरी तथा पाउरोटी उद्योग, कस्मेटिक र कोल्ड स्टोर पसलमा अनुगमन गरेको छ । अनुगमनका क्रममा म्याद गुज्रिएका, मूल्य नलेखिएका, उत्पादन मिति उल्लेख नभएको, लेवल नटाँसिएका खाद्यवस्तु फेला परेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणि राज बटालाले बताउनुभएको छ । त्यस्तै म्याद गुज्रिएर सडेको अवस्थामा कस्मेटिक सामग्री समेत फेला परेको छ ।
यहाँका अधिकांश पसलमा ब्यापारीले मुल्य सूची नराखेको पाईएको छ । नापतौलको अवस्था, साइनबोर्ड भए नभएको, व्यवसाय दर्ता भए नभएको, प्यान तथा भ्याटमा दर्ता भए नभएको बारे अनुगमन गरेको नगरपालिकाले जनाएको छ । अनुगमन टोलीले विभिन्न किराना पसलमा छ्ड्के अनुगमन गरेको छ । यहाँका पसलहरुबाट म्याद नाघेको चाउचाउ, चनाको सातु, गुल्कोज, चक्लेट, विस्कुट पसलमा बिक्री गर्न राखिएको विभिन्न कम्पनिका फ्रुटी समेत म्याद गुज्रिएको अस्थामा भेटिएको छ । म्याद गुज्रिएका सामग्री बरामद गरी नष्ट गरिएको छ ।
बजारमा कालो बजारी रोक्ने तथा गुणस्तरहिन सामान बिक्री बितरण गर्नेलाइ सचेत गराउने उदेश्यले आठबिसकोट नगरपालिकाले बेला बेलामा बजार अनुगमन गर्ने नीति लिएको नगरपालिकाले जनाएको छ । मुलुकको संघीय संरचनाअनुसार बजार अनुगमनको काम स्थानीय तहले नै गर्दै आएका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गाउँपालिका/नगरपालिकाबाट गरिने बजार अनुगमनको निर्देशिका २०७४ तयार पारेपछि हरेक पालिकाले बजार अनुगमन तथा उपभोक्ता सचेतना गर्ने काम गर्दै आएका छन्।