दाङ २२, बैशाख ।
गुरुकुल एकेडेमी घोराहीका कक्षा १० का विद्यार्थी दीपेश ओली र कक्षा ९ की छात्रा प्रज्ञा अधिकारी निर्वाचन प्रकृया बाट कप्तान र उपकप्तानमा छनौट भएका छन् । लोकतान्त्रिक विधि उच्च प्रतिस्पर्धा , मतदान शिक्षा, मतपरिणाम जस्ता कुराको बारेमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान दिन र विद्यार्थीहरुलाई चुनावी माहोलमा अभ्यस्त बनाउन कप्तान र उपकप्तान तथा सदन कप्तान र उपकप्तान छनौट भएका हुन् ।
विद्यालयका अनुशासन संयोजक थिन्ले वाङदी भुटिया मुख्य निर्वाचन अधिकृत भएर गरिएको निर्वाचनमा कप्तानतर्फ ३ जना र उपकप्तानतर्फ ४ जनाले भाग लिएका थिए । कुल २ सय ६८ मत खसेकोमा कप्तानतर्फ दीपेश ओलीले १ सय २५ मत ल्याएर विजयी भएका छन् ।
त्यस्तै उपकप्तान तर्फ प्रज्ञा अधिकारीले ८० मत ल्याएर निर्वाचित भएको विद्यालयका अनुशासन संयोजक तथा निर्वाचन अधिकृत थिन्ले वाङदि भुटियाले जानकारी दिनुभएको छ ।
निर्वाचनको सम्पुर्ण व्यवस्थापन विद्यालयका नेपाली विषयका विभागीय प्रमुख तथा शिक्षक विवेक देवकोटाले गर्नुभएको थियो । नव निर्वाचित कप्तान तथा उपकप्तानले यस अभ्यासले विद्यालयको अनुशासन र अन्य गतिविधि सुधार गर्नका लागि महत्वपूर्ण भुमिका रहने बताएका छन् ।