दाङ १२, बैशाख ।
दाङको घोराही –१५, रतनपुरमा रहेको गुरुकुल एकेडेमीमा अध्ययनरत कक्षा १२ का विद्यार्थीहरुलाई बिदाई गरिएको छ । गुरुकुलमा अध्ययनरत ११ कक्षाका विद्यार्थीहरुको आयोजनामा होटल मालाईनको सभाहलमा एक कार्यक्रमका बीच आज कक्षा १२ विद्यार्थीहरुलाई बिदाई गरिएको हो ।
विद्यालयमा अध्ययनरत कक्षा ११ का छात्रा युरिशा बन्जाडेको अध्यक्षता एवं विद्यालयका अध्यक्ष अनन्तराज घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि घिमिरेले यो दुई वर्षको समयमा भएका राम्रा र नराम्रा पक्षलाई विद्यालयले ग्रहण गर्दै आगामी दिनमा विद्यालयलाई थप व्यवस्थित र शैक्षिक गुणस्तरीयमा नयाँ ढंगले अगाडि बढाउने बताउनुभएको छ ।
उहाँले बिदाई हुनु भनेको तह पार गर्नु भएको भन्दै विद्यार्थीले आगामी दिनमा अझै मेहनत र संघर्ष गर्नुपर्ने कुरा राख्नुभएको छ । गुरुकुललाई गुरुकुल जस्तै बनाउन आफूहरुले योजनावद्द तरिकाले अगाडि बढाइरहेको भन्दै प्रमुख अतिथि घिमिरेले विद्यालयमा गुरुहरुबाट आर्जन गरेका ज्ञान र सीपलाई विद्यार्थीहरुले आ–आफ्नो क्षमताको आधारमा आत्मसात गर्दै अगाडि बढ्नुपर्ने र गुरुबाट आर्जन गरेका कुरालाई व्यवहारमा पनि लागू गरी समाज रुपान्तरणमा विशेष भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।
त्यस्तै उक्त कार्यक्रममा बोल्ने वक्ताहरूले विद्यार्थीहरुलाई शुभकामना मन्तव्य दिँदै बिदाई हुनु एक नरमाइलो क्षण महसुस हुने भएतापनि त्यो आफैमा महत्त्वपूर्ण रहने बताएका थिए । उनीहरुले यही बैशाख २६ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षालाई विद्यार्थीहरुले मेहनतका साथ अनुशासन भएर दिनुपर्ने कुरा राखेका छन् । उच्च शिक्षा विद्यालय तहभन्दा अप्ठ्यारो र जटिल हुने भएकाले आगामी दिनमा विद्यार्थीहरुले अझै मेहनत संगै संघर्ष गर्नुपर्ने र यो दुई वर्षभित्र कलेजमा गुरुहरुबाट सिकेका र प्राप्त गरेका ज्ञानका कुरा व्यवहारिकतासँग जोडेर लैजानुपर्ने वक्ताहरूको भनाइ छ ।
कक्षा ११ का छात्र रोशन पौडेलले बिदाई पत्र राख्दै पछिल्लो दुई वर्षमा गुरुहरुले सिकाएका कुरा अमुल्य हुने र विद्यालयका राम्रा पक्षले आफूहरूको सफलताका लागि आगामी दिनमा थप उर्जा मिल्ने बताए । उनले कलेजमा गुरुहरुबाट सिकेका र आर्जन गरेका सीप, ज्ञान र प्रेरणाले आफूहरूको करिअर बनाउनका लागि महत्त्वपूर्ण योगदानमा सहयोग पुर्याउने र विद्यालयको शिर संधै उचो बनाउने कुरा राखे ।
कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक डा. कृष्णराज डिसी, विद्यालयका सह–प्रध्यानाध्यापक मुकुन्द गिरी लगायतको उपस्थिति रहेको थियो ।