
रुकुम पश्चिम ११, बैशाख ।
आज १७औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ । जनताको विजय भएको खुसियालीमा विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो ।
यही उपलक्ष्यमा आज देशभर लोकतन्त्र दिवसलाई उल्लास र खुसीको दिनका रुपमा हेरिएको छ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरे । विसं २०५९ असोजमा संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन ।
निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शृङ्खला चल्यो । विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा (माओवादी) बीच १२ बुँदे समझदारी भयो ।
आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनर्स्थापना घोषणा गरी बैठक समेत आह्वान गरे । त्यसैले आजको दिनलाई लोकतन्त्र दिवस भनिन्छ ।
यो दिन नै गणतन्त्रको जगका रुपमा स्थापित बन्यो । राजनीतिक परिवर्तनको प्रवेशद्वार भएकाले वैशाख ११ गतेलाई लोकतन्त्र दिवसका रुपमा मनाउने गरिएको छ ।
