
रुकुम पश्चिम १४, चैत ।
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका स्थित झुल्नेटा बजारका व्यवसायीहरुका लागि आयकर, मुल्य अभिबृद्दी कर, अन्त शुल्क र मिसम्याच सम्बन्धी कर शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । झुल्नेटा बजार व्यवस्थापन समितिको आयोजना तथा करदाता सेवा कार्यालय सल्यानको सहजिकरणमा सोमबार सचेतना कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा झुल्नेटा बजारका करिब १ सय २० व्यवसायीको सहभागिता रहेको बताइएको छ ।करदाता सेवा कार्यालय श्रीनगर सल्यानका प्रमुख कबिन्द्र लम्साल र नायव सुब्बा विष्णु खड्काले व्यवसायीहरुले कर किन तिर्ने, आयकर कुन-कुन शिर्षकमा लाग्दछ, मुल्य अभिबृद्दी र अन्त शुल्क के हो, आर्थिक वर्षको सुरुवात र अन्त्य कहिले हुन्छ , कर चुक्ता गर्नुपर्ने कारण, दायित्व र जिम्मेवारी तथा मिसम्याच सम्बन्धी कर शिक्षा र हर्जना तथा विलम्ब शुल्क सम्बन्धी सहजिकरण गर्नुभएको छ ।
कार्यक्रममा त्रिवेणी गाउँपालिका अध्यक्ष गणेशकुमार केसीले व्यवसायीहरुले व्यवसाय दर्ता तथा नवीकरण समयमा गर्नुपर्ने, साना उध्योगी तथा करदाताहरुले समयमै करचुक्ता गरे करको हर्जना नलाग्ने र सभ्य नागरिकको रुपमा आफुहरुलाइ स्थापित गर्नुपर्ने बताउनुभयो । त्यगाउँपालिका तथा जिल्लाले गर्नुपर्ने कामको व्यवसायीले आफै करदाता सेवा कार्यालयबाट कर्मचारी बोलाइ कर शिक्षा तथा सचेतना कार्यक्रम सुरुवात गरेकोमा समेत उहाँले खुसी व्यक्त गर्नुभयो ।
आगामी दिनमा व्यवसायीहरुको यो सकारात्मक कार्यलाइ गाउँपालिकाले आत्मसाथ गर्दै व्यवसायीको पक्षमा हित हुने कार्यहरु गर्ने र यस्ता कार्यक्रमको निरन्तरताको लागि सहजीकरण गरिदिने अध्यक्ष केसीले बताउनुभएको छ ।
त्यस्तै रुकुम पश्चिम जिल्लाको प्रवेशद्वारमा झुल्नेटा बजार रहेको र रुकुम सफा सुन्दर र पर्यटकीय आकर्षणका लागि एक राम्रो गन्तव्य हो भन्ने पहिचान दिन प्रवेशद्वारबाटै आधारभूत कार्यक्रमको निर्माण र कार्यान्वयनमा झुल्नेटा बजार व्यवस्थापन समिति रहेको सचिब शंकर ओलीको भनाइ छ ।
