८ महिनाको अवधिमा झन्डै ९० प्रतिशत चामल बिक्री
64x64
२०७९ चैत्र १२ आइतबार प्रेसपालिका संवाददाता
250 Views

रुकुम पश्चिम १२, चैत ।
रुकम पश्चिमको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ८ महिनाको अवधिमा दुई हजार बढी क्विन्टल चामल बिक्री गरेको छ । चालु आर्थिक वर्षको साउन देखि फागुन अन्तिम सम्म दुई हजार १ सय ५१ दशमलव ९५  क्विन्टल चामल बिक्री गरेको हो ।

खाद्य व्यापार कम्पनीका कार्यालय प्रमुख बिनोद चन्दका अनुसार गत आर्थिक वर्षको तुलनामा यो वर्ष सोचे भन्दा बढी मात्रामा खाद्यको चामल बिक्री भएको छ । खाद्य कार्यालयमा रहेको कुल २ हजार  ४ सय ३६ क्विन्टल चामलमा झन्डै ९० प्रतिशत चामल ८ महिनामै बिक्री भएको उहाँको भनाइ छ ।

शाखा कार्यालयमा अघिल्लो आर्थिक वर्षको ४ सय  ४५ मौज्दात र यो वर्ष १९ सय ९० क्विन्टल चामल आएको थियो । तर चालू वर्ष नसकिंदै खाद्य व्यापार कम्पनीमा रहेको चामल तीव्र गतिमा बिक्री भैरहेकाले हाल २ सय ८४ क्विन्टल मात्रै चामल मौज्दात रहेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दिनहुँ चामलको माग बढ्दै गएकाले शाखाका लागि कोटा अनुसार थप चामल माग गरिएको बताएको छ । कम्पनीले जिल्ला स्थित सहकारी, सर्वसाधारण, कारागार र यसअघि सुपथ मूल्य पसलबाट चामल बिक्री गरिएको बताएको छ ।

खाद्य कम्पनीले उपभोक्तालाई सोना मन्सुली, बास्मती, अरुवा मोटो, अरुवा सिल्की लगायत ६ किसिमको चामल बेच्ने गरेको छ । तर कम्पनीमा हाल अरुवा मोटो चामल मात्रै रहेको छ ।

व्यापार कम्पनीले गत आर्थिक वर्षमा ११ सय ९५ क्विन्टल मात्रै चामल विक्री गरेको थियो । पछिल्लो समय बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दै गईरहेकाले हिजोआज खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामल उपभोग गर्नेको संख्या बढेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News