रुकुम पश्चिम १०, चैत ।
“हो हामी क्षयरोग अन्त्य गर्दछौ” भन्ने मुल नाराका साथ रुकुम पश्चिममा पनि विश्व क्षयरोग दिवस मनाइएको छ । दिवसको अवसरमा स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमको आयोजनामा जिल्ला स्थित पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
२४ मार्च १८८२ मा बैज्ञानिक डा. रोबर्ट ककले शरीरमा क्षयरोगको किटाणु पत्ता लगाएको अवसरमा क्षयरोगबारे जनचेतना जगाउनका लागि यो दिवस मनाउन थालिएको हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा ४५ प्रतिशत व्यक्तिहरु क्षयरोगबाट संक्रमित रहेका छन् । प्रति वर्ष करिब अनुमानित ४४ हजार क्षयरोगका नयाँ बिरामी थपिने र ५ देखि ७ हजार व्यक्तिको क्षयरोगकै कारण मृत्यु हुने गरेको जिल्ला स्वास्थ्य कार्यालय रुकुम पश्चिमका क्षयरोग तथा कुष्ठरोग फोकल पर्सन कृष्णा खड्काले जानकारी दिनुभयो ।
रुकुम पश्चिममा पनि पुस मसान्त सम्म ७५ जना क्षयरोगका बिरामीहरु रहेको क्षयरोग तथा कुष्ठरोग फोकल पर्सन खड्काले जानकारी दिनुभयो ।
माइक्रो व्याक्टेरियम ट्युबरक्लोसिस नामक किटाणु बाट लाग्ने क्षयरोग सरुवा रोग हो । यो रोग लागेका व्यक्तिले खोक्दा, हाच्छिंयु गर्दा हावाको माध्ययम बाट यो रोग सर्ने गर्दछ । तालिम प्राप्त उपचार सहयोगीको प्रत्यक्ष निगरानीमा पूरा अवधि ६ देखि ८ महिना उपचार गरेमा यो रोग निको हुन्छ । क्षयरोगको औषधि स्वास्थ्य संस्थाहरुमा निशुल्क पाईन्छ ।
जिल्लामा क्षयरोग उपचार तथा व्यवस्थापनका लागि ३२ वटा डट्स केन्द्र, ६ ओटा माईस्कोपि केन्द्र, १ वटा जिनएक्पर्ट केन्द्र र १ वटा डिआर सब सेन्टर सञ्चालनमा रहेको क्षयरोग तथा कुष्ठरोग फोकल पर्सन खड्काले जानकारी दिनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय रुकुम पश्चिमका डा.धिरज कुमार दासको अध्यक्षतामा सम्पन्न अन्तक्रिया कार्यक्रममा विभिन्न स्वास्थ्य शाखाका प्रमुख तथा प्रतिनिधि र जिल्ला स्थित पत्रकारहरुको उपस्थिति रहेको थियो ।