रुकुम पश्चिम ९, चैत ।
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका –६, झुल्नेटा नजिकै दहवाङमा रहेको महिला गार्मेन्ट उद्योगको भवन प्रयोग विहीन बनेको छ । स्थानीय महिलाको सामूहिक लगानी र सरकारको समेत सहयोग रकमबाट निर्माण गरिएको भवन प्रयोग विहीन बनेको हो ।
२०७६ साल देखि सञ्चालनमा रहेको गार्मेन्ट उद्योगले एक वर्ष अघि आफ्नै भवन निर्माण गरेर हाल बन्द गरेको छ । प्रयोग विहीन उद्योगको भवन बन्द हुँदा स्थानीयबासीले सरकारी रकम दुरुपयोग भएको बताएका छन् । स्थानीय समीर ओलीका अनुसार महिला गार्मेन्ट उद्योगको भवन गतवर्ष देखि ताला लगाएर बन्द गरिएको छ । तर सो गार्मेन्ट उद्योग भने हाल झुल्नेटा बजारको एक घरमा भाडा तिरेर सञ्चालनमा रहेको छ । यसबाट सरकारी अनुदानको चरम दुरुपयोग भएको भन्दै यो क्षेत्रका स्थानीयले गार्मेन्ट उद्योगको विषयमा खोजिनिधी गर्न थालेका छन् ।
यस विषयमा यहाँको स्वरोजगार महिला गार्मेन्ट उद्योगका सञ्चालक डिला पुनले गार्मेन्ट भवन पाएक पर्ने ठाउँमा नभएकाले सो भवन केही समयका लागि बन्द गरिएको बताउनुभएको छ । दहवाङबाटै गार्मेन्ट उद्योग सञ्चालन गर्दा उद्योगले ठूलो घाटा व्यहोर्नुपरेको र सेवाग्राहीलाई पनि त्यहाँसम्म पुग्न गाह्रो परेकाले उद्योगको भवन प्रयोग नगरिएको उहाँको भनाई छ ।
यस उद्योग सञ्चालनका लागि प्रदेश सरकार अन्तर्गत कृषि विकास कार्यालय रुकुम पश्चिमबाट हालसमम २२ लाख रकम अनुदान प्राप्त भएको छ । त्यस्तै स्थानीय सरकारले ७५ हजार रकम अनुदान सहयोग गरेको छ । महिला उद्यमीले भने गार्मेन्ट उद्योगको जग्गा खरिद, भवन निर्माण र सञ्चालनका लागि आफूहरुले समेत १५ लाख रकम खर्च गरेको बताएका छन् ।
यहाँको उद्योगले त्रिवेणी गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीका पोशाक निर्माण गर्दै आएको छ । त्यसबाहेक यसक्षेत्रका स्थानीय र छिमेकी जिल्लाका नागरिकले समेत महिला गार्मेन्ट उद्योगबाट कपडा सिलाइको सेवा लिइरहेका छन् । जिल्लामा यहाँको उद्योग जस्तै धेरैजसो सरकारी अनुदानमा बनेका भवन र उद्योग हाल बन्द अवस्थामा छन् । सरकरी निकायले भने बन्द उद्योगको कुनै सोधखोज, नियमन तथा अनुगमनमा ध्यान दिएका छैनन् । यसबाट राजनीतिक आड र भनसुनका भरमा सरकारी रकम हिनामिना गरेर खानेहरु मोटाउँदै गएका छन् । तर वास्तविक किसान र सिधासाधा नागरिक भने सरकारी अनुदान र सहयोगबाट वञ्चित बनेका छन् ।