रुकुम पश्चिम २९, फागुन ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले अटो रिक्सा संचालनमा ल्याएको छ । नगरपालिकाले अटो तथा इ–रिक्सा कार्यविधि निर्माण गरी आज देखि अटो रिक्साहरु संचालनमा ल्याएको हो ।
नगरपालिकाका विभिन्न ६ वटा रुटमा सञ्चालन हुने अटो रिक्सा सेवाको आज नगरप्रमुख महेन्द्र केसीले उद्घाटन गर्नुभएको छ । साथै अटो रिक्सा सञ्चालनमा आएसंगै अटोरिक्सा चल्ने लामो दूरी र छोटो दूरीको भाडा दर पनि निर्धारण गरिएको छ ।
पक्कि सडकमा प्रतिकिलोमिटर १२ र कच्चि सडकमा प्रतिकिलोमिटर १५ रुपैँया भाडादर कायम गरिएको मुसिकोट नगरपालिकाका निमिक्त प्रमुख प्रशासकीय अधिकृत विनाराम खड्काले जानकारी दिनुभयो ।
छोटो दूरीमा सल्ले देखि खंलगा सम्म ५०, सल्ले देखि शेरीगाउँ सम्म ७५, सल्ले देखि पिपलनेटा सम्म १ सय, सल्ले देखि सितलपोखरी सम्म १ सय र सल्ले देखि मुसीडाँडा सम्म १ सय २५ रुपैँया भाडा निर्धारण गरिएको छ ।
त्यस्तै लामो दूरी अन्तरगत सल्ले देखि सानीभेरी गाउँपालिकाको सिमाना सम्म १ सय ८०, सल्ले देखि स्याउलीवजार सम्म २ सय, सल्ले देखि झुलखेत सम्म १ सय ५०, सल्ले देखि खोपिचार सम्म ३ सय ५० र सल्ले देखि राउखेत सम्म १ सय ५० भाडादर कायम गरिएको निमिक्त प्रमुख प्रशासकीय अधिकृत खड्काले जानकारी दिनुभयो ।
नगरपालिकाले अहिले तत्काललाई नगरमा २४ वटा अटो रिक्सालाई संचालन अनुमति दिएको छ । अटो तथा इ–रिक्सा कार्यविधि अनुसार नगरपालिकाको छिवाङ जिउला–सादनचौर–माछमी हुँदै खलंगासम्म ६ वटा, स्याउली बजार–सोलावाङ हुँदै खलंगासम्म ४ वटा, होल्तारा–झुल्खेत हुँदै खलंगासम्म ४ वटा,घोरखानी–साँख हुँदै खलंगासम्म ४ वटा, पशुपती मावि रातामाटा हुँदै खलंगासम्म २ वटा र खलंगा–सल्ले–शेरीगाउँ–पिपलनेटा–शितलपोखरी–मुसिकोटडाँडा सम्म ४ वटा अटो संचालन हुने छन् ।