रुकुम पश्चिम १७, फागुन ।
रुकुम पश्चिमको सानिभेरी गाउँपालिकाले सहिद तथा घाईते परिवारलाई सम्मान गरेको छ । गाउँपालिकाको आयोजना र सहिद स्मृति प्रतिष्ठानको व्यवस्थापनमा गाउँपालिकाका सहिद तथा घाईते परिवारलाई सम्मान गरिएको हो ।
सहिद सप्ताहको अवसरमा आज गाउँ पालिकामा एक कार्यक्रमको आयोजना गरि गाउँपालिकाका ५० जना सहिद परिवार र २७ जना घाईतेहरुलाई सम्मान गरिएको हो । प्रति सहिद परिवार १ वटा फिल्टर, २ हजार ५ सय नगद सहित खादाले ५० जना सहिद परिवारलाई सम्मान गरिएको छ । त्यस्तै प्रति व्यक्ति १ वटा फिल्टर, २ हजार नगद सहित खादाले २७ जना घाईतेलाई सम्मान गरिएको सहिद प्रतिष्ठान सानीभेरी गाउँपालिकाका अध्यक्ष पहलसिं घर्तीमगरले जानकारी दिनुभयो ।
सानिभेरी गाउँपालिकाले हरेक वर्ष सहिद सप्ताहको अवसर पारेर गाउँपालिका स्थित जनयुद्ध र जनआन्दोलनका सहिद तथा घाईते परिवारलाई सम्मान गर्दै आएको छ । सानीभेरी गाउँपालिका अध्यक्ष बिर्ख बहादुर विष्टको अध्यक्षतामा भएको सहिद तथा घाईते परिवार सम्मान कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य बसन्त शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै कर्णाली प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मा, नेकपा माओवादी केन्द्र जिल्ला संयोजक गोविन्द रोका, शहिद परिवार समाज नेपालका केन्द्रीय सदस्य देवीलाल गौतम लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन शहिद प्रतिष्ठान सानीभेरी गाउँपालिकाका अध्यक्ष पहलसिं घर्तीमगरले गर्नुभएको थियो ।