रुकुम पश्चिम आन्तरिक कार्यसम्पादन मूल्यांकनमा सर्वोत्कृष्ट
64x64
२०७९ फाल्गुण १७ बुधबार प्रेसपालिका संवाददाता
174 Views

रुकुम पश्चिम १७, फागुन ।
रुकुम पश्चिमको जिल्ला प्रशासन कार्यालय देशभरीका जिल्ला प्रशासन कार्यालय मध्ये सर्वोत्कृष्ट भएको छ । गृह मन्त्रालयको आन्तरिक कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम सर्वोत्कृष्ट भएको हो ।

गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीहरूबीच आर्थिक वर्ष २०७९/८० का लागि भएको ६ महिने कार्य सम्पादनमा सर्वोत्कृष्ट रुकुम पश्चिमले ४१ पूर्णाङ्कमा ४०.८८ अंक पाएको छ ।

कार्यसम्पादनमा उत्कृष्ट १० जिल्लामा रुकुम पश्चिम सहित रुकुम पूर्व, प्यूठान, रूपन्देही, पर्वत, पूर्वी नवलपरासी, डडेलधुरा, दाङ र काठमाडौं छन् । उत्कृष्ट १० जिल्लाले ३९.४४ भन्दा माथि अंक पाएका छन् । ४० प्रतिशतभन्दा कम अंक ल्याउने जिल्ला कार्यसम्पादनमा अनुत्तीर्ण (न्यून सम्पादन) सूचीमा समेटिन्छन् । कमजोर कार्यसम्पादन सूचीका १० जिल्लामा जाजरकोट, चितवन, बझाङपछि क्रमशः सिराह, दोलखा, पाँचथर, ताप्लेजुङ, पर्सा, सोलुखुम्बु र सर्लाही छन् ।

प्रशासनको कार्यसम्पादन मूल्यांकनमा ९० प्रतिशत वा त्यसमाथि अंक ल्याउने ‘अति उत्तम’ मा ३१ जिल्ला परेका छन् । ७५ प्रतिशत देखि ८९ प्रतिशत अंक ल्याएका २२ जिल्लालाई उत्तम कार्यसम्पादनको सूचीमा राखिएको छ । ६० देखि ७४ प्रतिशतसम्म ल्याउने मध्यम सूचीमा १३ जिल्ला छन् । ४० देखि ५९ प्रतिशत अंक ल्याउनेमा ८ जिल्ला छन् ।

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय र प्रजिअको कार्यसम्पादनलाई ६ वटा समूहमा वर्गीकरण गरेको छ । शान्तिसुरक्षा तथा अपराध अनुसन्धान तथा नियन्त्रणमा २९, शासकीय प्रबन्धमा ४४, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा १०, मुआब्जा वितरण तथा विकास सहजीकरणमा ७, लागूऔषध नियन्त्रण ५ र मन्त्रालयको मूल्यांकन ५ गरेर १ सय पूर्णाङ्कमा जिल्ला प्रशासनको कार्यसम्पादन मूल्यांकन हुने व्यवस्था छ ।

चालू आर्थिक वर्षमा दर्ता भएका र अघिल्लो वर्षबाट जिम्मेवारी सरेका मुद्दाको फस्र्यौट, नागरिकतासम्बन्धी उजुर फस्र्यौट, ठाडो उजुरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र गृहबाट प्राप्त उजुरी फस्र्यौट, उपभोक्ता हितविपरीतका उजुरी तथा गुनासा, सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण, लागूऔषध सूचना व्यवस्थापन प्रणालीको नियमित प्रयोग, लेखा परीक्षण भएको कुल अंकमा बेरुजु फस्र्यौट, बक्यौता बेरुजु फस्र्यौट, प्रशासनिक कामकारबाही, महालेखा परीक्षकको प्रतिवेदन कार्यान्वयन लगायत विषयका आधारमा जिल्ला प्रशासनको मूल्यांकन हुन्छ । त्यसकै आधारमा हालै अर्धवार्षिक मूल्यांकन गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News