रुकुम पश्चिम १५, फागुन ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडानम्बर -१०, मा आयोजित एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । वडा कार्यालयको आयोजना र जिल्ला अस्पताल रुकुम पश्चिम र आँखा उपचार केन्द्र रुकुम पश्चिमको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।
शिविरमा वडाका ३ सय २५ जनाले सेवा लिएका छन् । जसमा २ सय ७ जना महिला र १ सय १८ जना पुरुषले सेवा लिएको वडा कार्यालयले जनाएको छ । जसमध्य १ सय ६८ महिला र ९७ पुरुष ६० वर्ष भन्दा कम उमेरका रहेका छन् भने ३९ महिला र २१ पुरुष ६० वर्ष माथीका रहेको वडाध्यक्ष धनबहादुर खड्काले जानकारी दिनुभयो ।
शिविरमा वडाका ८२ वर्ष उमेर सम्मका बिरामीले स्वास्थ्य सेवा लिएका छन । सेवा लिने मध्ये २ सय ५२ जनाले आँखा परीक्षण गराएका छन् । जसमध्य ३ जनालाई थप उपचारका लागि दाङ रिफर गरिएको छ भने मोतीबिन्दु भएका १४ जनाको चैत्र २३ र २४ गते जिल्ला अस्पताल सल्लेमा हुने निःशुल्क आँखा अप्रेशन शिविरमा गएर सेवा लिन भनिएको छ ।
त्यस्तै ५६ जनालाई वडा कार्यालयबाट निःशुल्क चस्मा उपलब्ध गराइएको छ । ४७ जनाले दाँतको सेवा लिएका छन् । ति मध्ये धेरैलाई जिल्ला अस्पताल सल्लेमा आएर थप उपचार गराउन सुझाब दिइएको छ । वडाध्यक्ष खड्काका अनुसार १३ जना गम्भिर खालका महिलाहरुको उपचार गरिएको छ ।
२ जनालाई तुरुन्तै सुर्खेत, नेपालगन्ज वा काठमाडौ गएर थप उपचार गराउन स्त्रीरोग विशेषज्ञ डा.केहलविक्रम जिसीले रिफर गर्नुभएको छ । शिविरमा डाक्टर जिसी सहित डा.सुशील शाह, डा.मिलन कोइराला, सिनियर अहेव इश्वर रावल, सिनियर अनमी मंगला रोका, मुसिकोट नगर स्वास्थ शाखामा कार्यरत जनस्वास्थ्य निरीक्षक बेदाराम ओली, आँखा उपचार केन्द्रका प्रमुख धनबहादुर केसी, मालिका मावि चुनमा कार्यरत विद्यालय नर्स मालिका बोहराको टोली खटिएको थियो ।
त्यस्तै आधारभुत स्वास्थ्य सेवा केन्द्र मुसिकोट १० का इन्चार्ज मीना खड्का, अहेव हरि विष्ट, वडाका जनप्रतिनिधि र कर्मचारी, टोल विकास संस्थाका संयोजकहरु, महिला स्वास्थ्य स्वयंसेवीकाहरु पनि खटिएका थिए । शिविरमा जिल्ला अस्पताल र आँखा उपचार केन्द्रले प्राविधिक सहयोग गरेका थिए ।
