रुकुम पश्चिम ११, फागुन ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा शारीरिक अपाङ्गता परिक्षण सम्बन्धी घुम्ती शिविर सम्पन्न भएको छ। मुसिकोट नगरपालिका, बिकलाङ्क मित्र समूह र अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रको संयुक्त आयोजनामा आधारभुत स्वास्थ्य सेवा केन्द्र चाँपामा शिविर सम्पन्न भएको हो ।
शिविरमा १८ बर्ष सम्मका हिड्न नसक्ने, कम्मर भन्दा मुनिको भाग नचल्ने, हात खुट्टा नभएका, छाेटा भएका, पुरै शरीर नचल्ने लगायतका शारीरिक अपाङ्गता भएका ५५ बालबालिकाहरुको स्वास्थ्य परिक्षण एवम् अपाङ्गता पहिचान गरिएको महिला, वालवालिका तथा जेष्ठ नागरिक शाखाकी सहायक महिला विकास निरीक्षक कमला मल्लले जानकारी दिनुभयो ।
शिविरमा कृत्रिम सामग्री २ जनालाई हुईलचियर, २ जनालाई वाकर र ४ जनालाई बैशाखी निशुल्क वितरण गरिएको छ ।
त्यस्तै विभिन्न अपाङ्गता भएका ८ जनालाई निशुल्क अप्रेसनकाे लागि अपांग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र बनेपा रिफर गरिएकाे सहायक महिला विकास निरीक्षक मल्लले जानकारी दिनुभयो ।
