रुकुम पश्चिम १७, माघ ।
सल्यानको कुमाख गाउँपालिका वडानम्बर -७, निबासी सुनिता बोहरा पुनको उपचारमा समस्या भएको छ । २३ वर्षीया सुनिताको उपचारको क्रममा घरमा भएको पैसा सबै सकिएको र थप उपचार गर्न गाह्राे भएकाले सहयोगको अपिल गरिएको हो ।
गत असोज १५ गते कुमाख गाउँपालिका वडानम्बर -७, को डुमकोट देखि खैराबाङ मन्दिर दर्शनका लागि जाँदै गर्दा वडाकै जिमालीमा जिप दुर्घटनामा परि घाईते भएकी सुनिताको टाउकोमा गहिरो चोट लागेको श्रीमान राजेश पुन मगरले जानकारी दिनुभयो ।
उपचारको क्रममा हालसम्म १८ लाख रुपैयाँ खर्च भैसकेको र अहिलेसम्म कुनै सुधार नआएको पारिवारिक स्रोतले बताएको छ । दुर्घटना लगत्तै सुनितालाई उपचारको लागि भारतको लखनउ लगिएको र पैसाको अभावका कारण हाल बाँकेको नेपालगन्ज न्युरो अस्पतालमा उपचार भैईरहेको छ ।
सुनिताको ११ महिनाको १ छोरी रहेकी छन् । श्रीमती जीवन मृत्यु संग अस्पतालको बेडमा छट्पटाइ रहँदा छोरी सम्हाल्न र बिरामी श्रीमतीको हेरचाह गर्न निकै समस्या परेको उनका श्रीमान पुनले बताउनुभयो । पारिवारिक अवस्था हाल निकै नाजुक भैसकेकोले सहयोगको लागि सबै संग उनको परिवारले अपिल गरेको छ ।
श्रीमतीको जीवन रक्षाको लागि र उपचारको निम्ति स्वदेश तथा बिदेशमा रहनुहुने सहयोगी दाताले सक्दो सहयोग गरिदिनुहुन पनि उनले सबै संग अपिल गरेका छन् ।
सहयोग गर्न चाहनेले हिमालयन बैंकमा रहेको खाता नम्बर ०५९०८३०९०३००१७ उहाँको श्रीमानको मोबाइल नम्बर ९८४८५४४५२७ मा सम्पर्क गर्न सक्नुहुने छ ।