रुकुम पश्चिम १४, माघ ।
रुकुम पश्चिमको सानीभेरी गाउपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीलाई गाँउमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ । बैंकको पहुँचमा नरहेका लाभग्राहीलाई मध्यनजर गर्दै सनराइज बैंक लिमिटेड सानीभेरी शाखालाई वडा कार्यालयमै लिएर सामाजिक सुरक्षा भत्ता वितरणलाई निरन्तरता दिएको हो ।
गाउँपालिकाका ७ वटा वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिने र बाकी ४ ओटा वडा बैंक नजिक रहेकाले बैंकबाटै वितरण गरिने एम.आई.एस. अपरेटर तथा पञ्जिकरण शाखा प्रमुख नारायण ओलीले जानकारी दिनुभयो ।
वडानम्बर १, २, ४, ५, ६, १० र ११ मा वडाबाटै भत्ता बितरण गरिने र वडा नम्बर ३, ७, ८ र ९ नम्बर वडा बैंक नजिकै भएकाले बैंकबाट बितरण गरिने बताइएको छ । अब सामाजिक सुरक्षा भत्ता बाड्न १ र २ नम्बर वडा बाकी रहेको र त्यहाँ पनि यही १५ र १६ गते सामाजिक सुरक्षा भत्ता वितरण गरिने पञ्जिकरण शाखा प्रमुख ओलीले जानकारी दिनुभयो ।
बृद्ध बृद्धाहरुलाई बैंक सम्म आउन जान झन्जट भएको गुणासो सम्बोधन गर्न बैंकका प्रतिनिधिलाई नै वडामा लिएर भत्ता वितरण गर्न लागिएको गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टको भनाइ छ । बैंक संग मिलेर गाउँमै सामाजिक सुरक्षा भत्ता प्राप्त गरेपछि लाभग्राही खुसी भएका छन् ।
