रुकुम पश्चिम ६, माघ ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा आवधिक योजना निर्माण सम्बन्धी सुझाव संकलन तथा विकासका प्राथमिकता बारे अन्तरक्रिया कार्यक्रम सुरु भएको छ । २ दिन सम्म चल्ने कार्यक्रम गाउँपालिका स्थित केसी होटलको सभाहलमा सुरु भएको हो ।
अहिलेसम्म सम्पन्न योजनाको समिक्षा तथा आगामी योजनाहरुलाई प्राथमिकरण गरी पञ्चवर्षिय योजना निर्माण गर्न कार्यक्रमको आयोजना गरिएको सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टले जानकारी दिनुभयो ।
बिष्टका अनुसार आवधिक योजना निर्माण गर्न वडाहरुलाई तथ्यांक संकलनको जिम्मा दिएको र वडा बाट ठोस तथ्यांक आए पश्चात आगामी ५ वर्षको एकीकृत योजना निर्माण गरी सोहि अनुसार पालिकाले नीति तथा कार्यक्रमहरु संचालन गरिने छ ।
गाउँपालिका अध्यक्ष बिर्ख बहादुर बिष्टको अध्यक्षतामा सन्चालन भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख लुम्बिनी गौतमको प्रमुख आतिथ्यता रहेको छ ।
त्यस्तै कर्णाली प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मा, आठबीसकोट नगरपालिकाका पूर्व नगरप्रमुख गोरखबहादुर केसी, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोका, सानीभेरी गाउँपालिकाका पूर्व अध्यक्ष नरबहादुर पुन लगायतको आतिथ्यता रहेको छ ।
कार्यक्रमको संचालन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकीले गर्नुभएको थियो ।
जिल्लाका सबै स्थानीय तहमा संचालन हुने कार्यक्रम यस अघि त्रिवेणी गाउँपालिकामा सम्पन्न भैसकेको छ ।यसपछि बाफिकोट गाउँपालिकामा माघ ८ र ९ गते, चौरजहारी नगरपालिकामा माघ १० र ११ गते, मुसिकोट नगरपालिकामा माघ १२ र १३ गते तथा आठविसकोट नगरपालिकामा माघ १६ र १७ गते हुनेछ ।