निराजन सिर्पाली
रुकुम पूर्व १८, माघ ।
रुकुम पूर्वको भूमे गाउँपालिका वडानम्बर -९, चुन्वाङ, लाखरखोला स्थित आधारभूत विद्यालय दुवाचौरमा अक्षयकोष स्थापनाका लागि नगद रकम सहयोग भएको छ ।
आधारभूत विद्यालय दुवाचौर कक्षा ३ मा अध्यनरत युनिक पुन मगरले बुधबार आफ्नो जन्मदिनको अवसर पारि विद्यालयलाई नगद २५ हजार बढी सहयोग गर्नुभएको हो ।
भूमे गाउँपालिका -९ चुन्वाङको गैरीगाउँ बस्ने सन्देश कुमार पुन मगर र अस्मिता पुन मगरको छोरा युनिक पुन मगरले जन्मदिनको अवसरमा आधारभूत विद्यालय दुवाचौरलाई २५ हजार ५ सय २५ रुपैयाँ सहयोग गर्नुभएको विद्यालयका प्रधानाध्यापक मान बहादुर बिष्टले जानकारी दिनुभएको छ ।
रेडियो पूर्वी रुकुमका सञ्चालक समिति अध्यक्ष लालबहादुर बिसी (प्रभात) को उपस्थिति तथा विद्यालयको रोहबरमा विद्यालयका प्रधानाध्यापक मान बहादुर बिष्टलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।
अक्षयकोष स्थापनाका लागि दिइएको रकम ग्रहण गर्दै प्रधानाध्यापक बिष्टले यो ऐतिहासिक तथा उदाहरणीय कार्य भएको बताउँदै धन्यवाद ज्ञापन सँगै कापीकलम दिएर जन्म दिनको शुभकामना दिनुभएको छ ।
विद्यालयमा आएको रकमलाई विद्यालयले विद्यालयको अक्षयकोषमा राख्ने जनाएको छ ।